मधेसी मोर्चामा नेता–कार्यकर्ता तानातान पूर्व सभासद् फोरम छोडेर तमलोपामा


नेपाल समाचारपत्र बाँके ।

पूर्व सभासद् एवं संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य सन्ध्या देव तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गर्नु भएको छ ।े
पूर्वसभासद् देवसँगै फोरमका दर्जनबढी नेताहरु तमलोपामा गएका छन् । तमलोपाका वरिष्ठ उपाध्यक्ष हृदेयस त्रिपाठीले मंगलबार नेपालगञ्जमा सबैलाई पार्टीमा प्रवेश गराउनुभयो । संविधान संशोधन नभईकन चुनाव हुन नदिने बताइरहेका नेताहरुले मधेसी मोर्चामै आवद्ध दलका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा तानिरहेका छन् । फोरम छोडेर जिल्ला उपाध्यक्ष फिरोज, जिल्ला सदस्यहरु रहमद अलि शेष, तेजबहादुर श्रेष्ठ, माया सोनी, स्वाष्तिका बर्मा, सल्लाहकारहरु जलिल अहमद हल्वाई, मैमुद साह, अनिष तमलोपामा प्रवेश गरेका छन् ।
उपेन्द्र यादवले नेतृत्व गरेको फोरम बाँकेमा लामो समयदेखि आन्तरिक कलह रहेको उनीहरुको भनाई छ । संशोधन नभई चुनाव हुनै नदिने भाषण गर्दै हिडेपनि मोर्चाका नेताहरु पार्टीलाई बलियो बनाउन कार्यकर्ता जुटाइरहेका छन् । मधेसी मोर्चाकै बीचमा नेता तथा कार्यकर्ता तानातान भएको हो र भन्ने प्रश्नमा तमलोपाका केन्द्रीय सहमहामन्त्री पशुपति दयाल मिश्रले त्यस्तो नभई त्यहाँ निस्क्रिय रहेकालाई सक्रिय बनाउन यता ल्याएको बताउनुभयो ।
पूर्व सभासद् देवलगायतको टोली फोरममा असन्तुष्टि जनाएर बसेका थिए । सहमहामन्त्री मिश्रले फोरमका नेताहरुलाई सोधेर देवलगायतको टोलीलाई पार्टीमा ल्याएको बताउनुभयो । ‘उहाँहरु २०६४ देखि सक्रिय हुनुहुन्थ्यो, अहिले पार्टीमा केही असन्तुष्टि जनाएर निस्क्रिय बस्नु भएको थियो, हामीसँग जोडिनुभयो, मिश्रले भन्नुभयो, हामी मोर्चाका नेता तथा कार्यकर्तालाई तोडेर आफूसँग जोड्न लागेका छैनौ ।
तमलोपाका वरिष्ठ उपाध्यक्ष त्रिपाठीले चुनाव बहिष्कार नभई हुनै नदिने वातावरण बनाउन थालेकाले नेता तथा कार्यकर्तालाई एकजुट हुन जरुरी रहेको बताउनुभयो । ‘संविधान संशोधन नभई चुनाव हुनै दिदैनौ, हामी साधुसन्तको जमात त होइनौ, त्रिपाठी मंगलबार नै यहाँ आयोजित पत्रकार भेटघाटमा भन्नुभयो, सशक्त प्रतिकार गर्छौ ।’ सरकारले पहिला अन्यत्र चुनाव गरेपछि बल प्रयोग गरेर दुई नम्बरमा प्रदेशमा चुनाव गर्ने तयारी गरेको आशंका गर्दै त्रिपाठीले यदि यस्तो गरियो भने सरकारले नै दुई राज्य स्वीकार गरेको देखिने बताउनुभयो ।
सरकारले सीमांकनलाई थाती राखेर चुनावको तयारी गरेकोमा त्रिपाठीले त्यसो हुनै नसक्ने बताउनुभयो । ‘२०६४ पनि तराईले नचाहदा चुनाव हुन सकेन, यसपाली पनि त्यस्तै हो, त्रिपाठीको भनाई थियो, सरकारले जबरजस्ती चुनाव गर्नेतिर लागेमा मुलुक मुठभेडमा जान्छ ।’ त्रिपाठीले दलहरुको यस्तै रवैया रहिरहेमा अहिलेको संविधानको पनि २०४७ सालकै हविगत हुने बताउनुभयो ।