प्रधानमन्त्री बेइजिङमा ‘नेपाल दक्षिण एसिया जोड्ने केन्द्र’



काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार चीनको राजधानी बेइजिङ पुग्नुभएको छ। उहाँ बेइजिङस्थित नेपाली दूतावासद्वारा उहाँको सम्मानमा आयोजित स्वागत समारोहमा समेत शनिबार साँझ सहभागी हुनुभएको थियो। सो अवसरमा उहाँले चीनमा रहेका नेपालीसँग कुराकानी गर्नुभएको थियो। प्रधानमन्त्रीले भोलि सोमबार चीनका राष्ट्रपतिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

उहाँले शनिबार बिहान हेनान प्रान्तको बोआओमा बोआओ मञ्चको सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। सम्मेलनलाई सम्बोधन गर्दै उहाँले चीन र भारतजस्ता आर्थिक उदयीमान मुलुकका बीचमा रहेको नेपाल समग्र दक्षिण एसियालाई जोड्ने केन्द्रको भूमिकामा रहने बताउनुभएको थियो।
शनिबारदेखि चीनको हेनान प्रान्तमा शुरू भएको बोआओ मञ्चको वार्षिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘नेपालको भूमिका चीन र भारतलाई जोड्ने पुलका रूपमा मात्र सीमित छैन, समग्र दक्षिण एसियालाई जोड्न सक्छ।’

नेपालजस्तो भू–परिवेष्ठित मुलुकलाई उपलब्ध हुने भन्सार, पारवहन, उत्पादनको बजार सहजीकरणजस्ता सुविधामा सहजीकरण गर्न समुन्द्र मार्गसँग जोडिएका मुलुकले सहजीकरण गर्न सघाउ पुर्याउनुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिनुभएको छ।

विशेष वक्ताका रूपमा सम्मेलनमा सहभागी हुनुभएका प्रधानमन्त्री दाहालले ‘विश्वव्यापीकरण र स्वतन्त्र व्यापार’ शीर्षकमा सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। विश्वव्यापीकरण र स्वतन्त्र व्यापारले विश्वलाई समृद्ध बनाइरहेको अवस्थामा नेपालजस्ता अविकसित मुलुकहरूलाई लचिलो व्यापार प्रक्रिया, सहज भन्सार र पारवहन सुविधा उपलब्ध हुनुपर्ने उहाँको भनाइ थियो। राजनीतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढेको नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रमा लगानी गर्न प्रधानमन्त्री दाहालले सम्मेलनका सहभागीहरूलाई आग्रह गर्नुभयो।

यसअघि सम्मेलनको उद्घाटन चिनियाँ उप–प्रधानमन्त्री झाङ गोलीले गर्नुभएको थियो। बोआओ सम्मेलनमा सहभागी हुन माडागास्कारका राष्ट्रपति, संघीय राज्य माइक्रोनेसियाका राष्ट्रपति, अफगानिस्तानका सभामुख, म्यानमारका उप–राष्ट्रपति, पाकिस्तानलगायत अन्य मुलुकहरूबाट पूर्वप्रधानमन्त्री र मन्त्रीहरू चीन पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्