जाजरकोटमा ८५ मतदान केन्द्र सिफारिस


जाजरकोट, (नेस)

जाजरकोटमा स्थानीय निर्वाचनका लागि ८५ वटा मतदान केन्द्र सिफारिस गरिएको छ। जिल्ला निर्वाचन कार्यालय जाजरकोटका अनुसार विगतमा कायम रहेका ८५ वटा मतदान केन्द्रलाई नै कायम गरी सिफारिस गरिएको हो।

जिल्लाका ३ नगरपालिका तथा ४ गाउँपालिकाका केही वडाको मतदान केन्द्रहरू परिवर्तन गरी पायक पर्ने स्थानमा कायम गरी सिफारिस गरिएको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका जिल्ला निर्वाचन अधिकृत हरिबहादुर बुढाथोकीले जानकारी दिए।

७९ हजार ३ सय १३ मतदाता रहेको जाजरकोट जिल्लाका ७ वटा स्थानीय तहमध्ये भेरीनगरपालिका सबैभन्दा बढी १६ हजार २ सय ३७ तथा शिवालय गाउँपालिकामा सबैभन्दा कम ७ हजार १ सय ७३ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटका प्रमुख बुढाथोकीले बताए।

नयाँ संरचनाअनुसार जिल्लामा रहेका ३ नगरपालिका, ४ गाउँपालिका गरी ७७ वडामा ३ सय ९९ जना जनप्रतिनिधि चयनका लागि चुनाव हुनेछ। चुनावका लागि जिल्ला निर्वाचन कार्यालय जाजरकोटमा ११ दल दर्ता भएका छन्। दर्ता हुने दलहरूमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल कम्युनिस्ट पार्टी (माक्सवादी), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति नेपाल, संघीय समाजवादी फोरम नेपाल, नेकपा माले र नेकपा (माले–जनसमाजवादी) रहेको जिल्ला निर्वाचन कार्यालय जाजरकोटले जनाएको छ।