भारतीय पर्यटक तान्न ठोस कार्यक्रमको खाँचो



धन बस्नेत, पोखरा

गर्मी मौसममा भारतीय पर्यटकको उपयुक्त थलो पोखरा बन्दै आएको छ। तर, ठोस पहल नहुँदा पर्याप्त भारतीय पर्यटकहरू पोखरासम्म आउन अझै नसकिरहेको पर्यटन व्यवसायी तथा भारतीयले समेत औंल्याएका छन्।
सीमा जोडिएका शहरमा गरिने प्रचारले केही राहत भने पक्कै दिएको छ। ‘चलिए पोखरा’ अभियानले पोखरामा भारतीय पर्यटक आगमनमा सुधारोन्मुख हँुदै गए पनि अझै प्रभावकारी कदम चाल्न सकिएको अवस्था छैन। भारतीय पर्यटक भित्र्याउनका लागि सरकार र पोखराका पर्यटन व्यवसायीले ठोस पहल गर्नुपर्नेमा भारतीय पर्यटन व्यवसायीले जोड दिएका छन्। उनीहरूले पोखरा नेपालको उत्कृष्ट गन्तव्य भएकाले भारतीय पर्यटकलाई पोखरा भित्र्याउन सकेको खण्डमा पोखराको पर्यटन राम्रो हुने सुझाव दिएका छन्।

भारतको इस्टर्न हिमालय ट्राभल टुर अपरेटर एसोसिएसनका अध्यक्ष सम्राट सान्यालले पोखरा नेपालको उत्कृष्ट गन्तव्य भएकाले भारतीय पर्यटक भित्र्याउनका लागि नेपाल सरकार र पोखराका पर्यटन व्यवसायी नै सक्रिय बन्नुपर्नेमा जोड दिनुभयो। नेपालको पूर्वी सिमानासंँग जोडिएको भारतीय क्षेत्र सिलगुडीबाट पोखरा सिधा बस सेवा सञ्चालन गर्न सकेको खण्डमा भारतको पूर्वी भेगमा रहेका पर्यटकहरू सिधैं पोखरा घुम्न आउन सक्ने भन्दै सम्राटले नेपाल सरकारले यसबारेमा सोच्नुपर्नेमा जोड दिनुभयो।

‘पोखरा आफंैमा प्राकृतिक हिसाबले रमणीय छ। मनोरम हिमश्रृङ्खला ताल तलैया र वरपरका गाउँले पर्यटकको बसाइ लम्ब्याउन सहयोग पुग्छ।’ उहाँले भन्नुभयो–‘विभिन्न गाउँमा होमस्टे सञ्चालनले पनि अझ प्रभावकारी भूमिका खेलेको छ, खेल्ने छ।’ उहाँले नेपालमा आन्तरिक पर्यटकको समेत सम्भावना रहेको बताउँदै त्यसको बारेमा पनि नेपाल सरकारले आफ्नो मुलुकभित्र भ्रमण गर्ने वातावरण सिर्जना गरेको खण्डमा नेपालीले आफ्नै देशको भ्रमण गर्न उत्सुक हुने बताउनुभयो।

नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख उदय भट्टराईले पोखरा प्रचुर सम्भावना बोकेका शहर भएको बताउँदै भारतीय पर्यटकको संख्यामा वृद्धि गराउनका लागि समेत आफूहरू जुटिरहेको बताउनुभयो। पोखरामा अधिकांश भारतीय पर्यटक आउने गरेको भएता पनि अझै पनि सरकारले सिधंै भारतको विभिन्न ठाउँबाट पोखरासम्म सिधैं बस सेवा सञ्चालन गर्न सकेको खण्डमा पर्यटकको संख्यामा वृद्धि हुने उहाँको भनाइ रहेको थियो।

पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा, टे«किङ एजेन्ट्स एसोसिएसन अफ पोखरा टान पश्चिमाञ्चल क्षेत्रीय च्याप्टरका अध्यक्ष दीपकराज अधिकारी, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनलगायतले पोखरामा भारतीय पर्यटक भित्र्याउन आफूहरूले इस्टर्न हिमालय ट्राभल दूर अपरेटर एसोसिएसनसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस्