व्यापारीको अपहरणपछि प्रेमिकाको हत्या

0
Shares

काठमाडौ, (नेस)
युवतीको सहयोगमा व्यापारीलाई अपहरण गरी फिरौतीबापतको रकम लिएपछि प्रेमिकाको हत्यामा संलग्न रहेकालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।

मखनगल्लीस्थित न्यु डालिज साडी र साडी संसारका सञ्चालक श्यामसुन्दर अग्रवाललाई अपहरण गर्न योजना बनाउने र आफ्नै प्रेमिकाको हत्या गर्ने अपहरणकारी तथा युवतीको हत्यामा संलग्न रहेका किशोर गिरी र सरोज घोरासैनीलाई महाशाखाले पक्राउ गरेको छ। उक्त घटनाका प्रमुख योजनाकार प्रकाश लामिछाने भने फरार रहेका छन्।

सो साडी पसलमा काम गर्दै आएकी धादिङ धार्केकी राधिका श्रेष्ठले आफ्नै प्रेमी प्रकाश लामिछानेको योजनाअनुसार अग्रवालको अपहरण गर्ने योजना बनाएकी थिइन्। अग्रवालको पसलमा काम गर्दै आएकी राधिकाले फागुन ५ गते अग्रवाललाई एकछिन काम छ भन्दै सुन्धारा रहेको एउटा गेस्ट हाउसमा बोलाएकी थिइन्।

राधिकाले बोलाएपछि अग्रवाल उक्त गेस्ट हाउसमा पुगेका थिए। राधिकाले अग्रवाललाई मदिरा पिउन आग्रह गरेपछि दुवै जना मिलेर मदिरा पिइरहेको अवस्थामा पूर्वयोजनामुताविक अपहरण गर्ने टोली उक्त गेस्ट हाउसमा पुगेको थियो। अपहरणका प्रमुख योजनाकार प्रकाशले अग्रवाललाई अपहरण गरेर सोही गेस्ट हाउसको एउटा कोठामा थुनेर राखेर १० लाख ७० हजार फिरौतीबापत रकम माग गरेका थिए।

अपहरणकारीले माग गरेजति रकम अग्रवालले दिएका थिए। अग्रवालसँग रकम लिएपछि अपहरणकारी अग्रवाललाई त्यहीं छाडेर रकम लिएर फरार भए। महाशाखाको टोलीले अग्रवाललाई सकुशल अपहरणमुक्त गरी अपहरणकारीको खोजीलाई तीव्रता दिएको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिनुभयो।

अपहरणकारीहरूले फिरौतीबापतको रकम भागवण्डासमेत गरेर पक्राउ परेका गिरी र घोरासैनीलाई २–२ लाख दिएर बाँकी रकम लिएर प्रकाश र राधिका भने रकम लिएर भक्तपुरतर्फ लागेको अनुसन्धानको क्रममा पत्ता लागेको एसएसपी अमात्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

पैसा लिएर भक्तपुर बागेश्वरी पुगेका प्रकाशले अपहरणको पोल खुल्ने डरले आफ्नी प्रेमिका राधिकाको हत्या गरी बागेश्वरीको मुहानपोखरीमा लगेर प्लास्टिकले बेरेर खाल्डो खनेर पुरका थिए। प्रहरीले अपहरणकारी खोजी गर्ने क्रममा राधिकाको हत्या गरी गाडेको अवस्थामा शव फेला पारेको थियो।

बितेको दुई वर्षदेखि राधिका र प्रकाशबीच प्रेम सम्बन्ध रहँदै आएको थियो। उनीहरू दुवै मिलेर अग्रवालको अपहरणको योजना बनाएका थिए।