उद्योगमा लगानी भित्र्याउन औद्योगिक क्षेत्र विस्तार


हेटौंडा,(नेस) ।

उद्योग संघ मकवानपुरको व्यवस्थित सभाहल र सचिवालयसहित नयाँ निर्माण हुने भवनको शिलान्यास गरिएको छ ।

करिब दुई करोड लागतमा निर्माण हुने भवनको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले शिलान्यास गर्नुभएको हो । अध्यक्ष बस्नेतले देशमा उद्योग क्षेत्रमा लगानी भित्र्याउन लिमिटेडले हरेक प्रदेशमा पर्याप्त मात्रामा जग्गा छुट्याएर औद्योगिक क्षेत्र विस्तारको अभियान चलाएको बताउनुभयो ।

औद्योगिक क्षेत्र विस्तारका क्रममा हेटौंडाको मयुरधापमा दोस्रो औद्योगिक क्षेत्रको लागि जग्गा छुट्याएर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका नाममा आइसकेको उहाँले बताउनुभयो ।

‘अब केही दिनमा हेटौंडामा दोस्रो औद्योगिक क्षेत्र विस्तारको गुरुयोजना तयार हुनेछ’, अध्यक्ष बस्नेतले यो औद्योगिक क्षेत्र विस्तारसँगै नयाँ आउन चाहने उद्योगको लागि पर्याप्त जग्गा उपलब्ध हुने बताउनुभयो ।

न्याँ उद्योग विस्तारसँगै संघलाई व्यवस्थित बनाउने सन्दर्भमा उद्योग संघको नयाँ सचिवालय उपयोगी हुने उहाँको विश्वास छ ।

संघ अध्यक्ष नवराज अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रमबीच लिमिटेड अध्यक्ष बस्नेतले संघलाई भारत सरकारले सहयोगस्वरुप उपलब्ध गराएको एम्बुलेन्स सेवाको औपचारिक शुभारम्भ गर्नुभयो ।

तीन रोपनी जग्गामा एक करोड ९३ लाख रुपियाँ लगानीमा निर्माण हुने भवनको तल्लो तलामा करिब दुई सय जना हटाउने सभाहल र माथिल्लो तलामा सचिवालय र बैठक कक्ष रहने अध्यक्ष अर्यालले जानकारी दिनुभयो । भवन निर्माणका लागि औद्योगिक क्षेत्रका उद्योगहरुबाट सहयोग संकलन गरिने उहाँले बताउनुभयो ।

औद्योगिक क्षेत्रसँग ४० वर्षका लागि जग्गा भाडामा लिएर संघले भवन निर्माण थालेको हो । भवनको सभाहलमा औद्योगिक क्षेत्रमा हुने ठूला कार्यक्रम र गर्न सहज हुने अध्यक्ष अर्यालले बताउनुभयो ।