दूधको बिक्री मूल्य बढ्यो



हेटौंडा,(नेस) ।

दुग्ध विकास संस्थान, हेटौंडा दुग्ध वितरण आयोजनाले किसानसँग खरिद गर्ने दूधमा प्रतिलिटर एक रुपियाँ ५० पैसा बृद्धि गरेसँगै दूधको बिक्री मूल्य मंगलबारदेखि बृद्धि भएको छ ।

किसानलाई प्रतिलिटर एक रुपियाँ ५० पैसा बृद्धि भएसँगै जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले उपभोक्ता मूल्यमा बढोत्तरी गरेको हो । नयाँ कायम भएको मूल्यअनुसार चार दशमलव पाँच फ्याट र आठ दशमलव पाँच एसएनएफ भएको दूधमा अब किसानले प्रतिलिटर ४६ रुपियाँ १८ पैसा तथा चार फ्याट र आठ एसएनएफ भएको दूधमा प्रतिलिटर ४१ रुपियाँ ९० पैसा पाउने संघ व्यवस्थापक कुमारमणि दाहालले बताउनुभयो ।

उहाँका अनुसार यसअघि चार दशमलव पाँच फ्याट र आठ दशमलव पाँच एसएनएफ भएको दूधमा किसानले प्रतिलिटर ४४ रुपियाँ १८ पैसा तथा चार फ्याट र आठ एसएनएफ भएको दूधमा प्रतिलिटर ४० रुपियाँ ४० पैसा पाउँदै आएका थिए ।

यससँगै दूधको उपभोक्ता मूल्यमा हेरफेर आएको छ । नयाँ मूल्यअनुसार खुद्रा प्रति आधा लिटर ३० रुपियाँ, प्रति एक लिटर ६० रुपियाँ, पाँच लिटरदेखि २० लिटरसम्म खरिद गर्नेलाई प्रतिलिटर ५९ रुपियाँ र २० लिटरदेखि माथि खरिद गर्नेलाई प्रतिलिटर ५८ रुपियाँमा मूल्य निर्धारण गरिएको संघ व्यवस्थापक दाहालले जानकारी दिनुभयो ।

संघले आधा लिटरको ६० वटा कुपनबराबर आधा लिटर, एक लिटरको ६० वटा कुपन बराबर एक लिटर दूध छुटस्वरुप उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्