काठमाडौँ, २ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्तिप्रक्रियामा सहयोग गरेकोमा स्विट्जरल्यान्ड सरकारलाई धन्यवाद दिनुभएको छ ।
नेपालका लागि स्विट्जरल्यान्डका राजदूत योर्ग ज्योभानी फ्रिडेनसँग आज सिंहदरबारमा भएको शिष्टाचार भेटमा उहाँले नेपालको राजनीतिक रुपान्तरणमा स्विट्जरल्यान्ड सरकारले गरेको सहयोगप्रति खुसी व्यक्त गर्नुभयोे ।
प्रधानमन्त्री प्रचण्डले स्थानीय तह कार्यान्वयन सुरु भइसकेकाले अब तोकिएकै समयमा स्थानीय निर्वाचन गर्ने गरी सरकार लागिरहेको बताउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उहाँले मधेस केन्द्रित दलसँग निरन्तर छलफल भइरहेकाले राजनीतिक अस्थिरता चाँडै अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा नेपालका लागि स्विट्जरल्यान्डका राजदूत फ्रिडेनले नेपालमा राजनीतिक स्थिरता तथा स्थानीय र प्रदेश तहको निर्वाचनको विषयमा चाँसो राख्नुभयो । उहाँले नेपाल सरकारले विभिन्न समयमा स्विट्जरल्यान्डसँग गरेको सहयोग र समन्वयका लागि पनि खुसी व्यक्त गर्नुभयो । रासस
प्रतिक्रिया