चालू आवमा एक अर्बको तरकारी आयात



कृष्णउदास खनाल, वीरगन्ज

नेपाल अझै पनि तरकारी र फलफूलमा परनिर्भर रहेको कुरा वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। तरकारी तथा फलफूलको आयातका लागि वीरगन्ज नाकाबाट मात्रै चालू आर्थिक वर्षको करिब ७ महिनामा झन्डै एक अर्ब रुपियाँ बाहिरिएको छ। वीरगन्ज नाका हँुदै भारतबाट यो अवधिमा ९५ करोडभन्दा बढी मूल्यको तरकारी तथा फलफूल आयात भएको हो। चालू आर्थिक वर्षको साउनदेखि माघसम्म वीरगन्ज नाका हँुदै भारतबाट ९५ करोड ४० लाख ७१ हजार रुपियाँ बराबरको तरकारी तथा फलफूल आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

वीरगन्ज नाका हँुदै ७८ करोड ७० लाख १६ हजार रुपियाँ बराबरको तरकारी (हरियो तथा ताजा तरकारी, आलु, प्याज) नेपाल भित्रिएको छ। २६ करोड ६ लाख ६० हजार रुपियाँको ३८ हजार ६ सय ८३ क्विन्टल हरियो केराउ र २५ करोड १२ लाख १४ हजार रुपियाँको ६५ हजार तीन सय ९८ क्विन्टल प्याज नेपाल भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।

यस अवधिमा भारतबाट वीरगन्ज नाका हँुदै १६ करोड ४५ लाख ६५ हजार रुपियाँको २९ हजार सात सय ८१ क्विन्टल हरियो सागपात, पांँच करोड ३३ लाख ७२ हजार रुपियाँको चार हजार दुई सय ५८ क्विन्टल बोडी, चार करोड ६५ लाख ३४ हजार रुपियांँ बराबरको २४ हजार पाँच सय २५ क्विन्टल आलु आयात भएको छ।

चालू आर्थिक वर्षको ७ महिनामा वीरगन्ज नाका हँुदै भित्रिएका तरकारी र फलफूलबाट कृषि सेवा शुल्कतर्फ भन्सार कार्यालयले ९ करोड १९ लाख पाँच हजार रुपियाँ राजस्व संकलन गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले बताउनुभयो। भारतबाट आयात गरिएका तरकारीबाट ८ करोड २३ लाख १० हजार र फलफूलबाट ९५ लाख ९५ हजार रुपियाँ राजस्व संकलन भएको हो। विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा पाँच प्रतिशत कृषि सेवा शुल्क मात्र लाग्ने गरेको छ। भारतबाट वीरगन्ज नाका हुँदै आयात भएका बेमौसमी हरिया तरकारी हेटौंडा, नारायणगढ, पोखरा र काठमाडौंका बजारमा आपूर्ति हँुदै आएको छ।

प्रतिक्रिया दिनुहोस्