शेयर बाँडफाँडमा अनियमितता भन्दै उजुरी



काठमाडौं, (नेस)

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको साधारण शेयर बाँडफाँडमा अनियमितता भएको भन्दै छानबिनका लागि नेपाल धितोपत्रबोर्डमा उजुरी परेको छ।

एउटै आवेदन नम्बरबाट धेरै फारम संकलन गरी बाँडफाँड प्रक्रियामा भएका गल्ती ढाकछोपको प्रयास भएको भन्दै साना लगानीकर्तालाई न्याय दिलाउन बोर्डसमक्ष आग्रह गरिएको छ।

एउटै आवेदन नम्बर भएका शेयरधनीले एक जनालाई परेको शेयर आफूले पनि पाउनु पर्ने दाबी गर्दै लक्ष्मी भट्टराई, सञ्जय भण्डारी र यशोदा न्यौपानेले बोर्डमा निवेदन दिएका हुन्। निवेदनबाट माइक्रो फाइनान्सको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले कसरी एउटै आवेदन नम्बर राखेर एकभन्दा बढी आवेदन फारम लगानीकर्तालाई वितरण गर्यो, किन एक जनालाई मात्र शेयर वितरण गरियो भन्ने सम्बन्धमा छानबिनका लागि आग्रह गरेका हुन्।

फरवार्ड कम्युनिटीको शेयरमा १७०५७ नम्बरको आवेदनबाट लक्ष्मी भट्टराई, १७०५८ नम्बरको आवेदनबाट सञ्जय भण्डारी र १७०५९ नम्बरको आवेदनबाट यशोदा न्यौपानेले शेयर आवेदन गरेका थिए। तर, नबिल इन्भेष्टमेन्ट बैंकिङले आफ्नो वेबसाइटमा पहिलोपटक राखेको शेयर बाँडफँँडको नतिजामा १७०५७ नम्बरको आवेदनबाट राजन श्रेष्ठ, १७०५८ नम्बरको आवेदनबाट गौरीशंकर श्रेष्ठ र १७०५९ नम्बरको आवेदनबाट रूपक धनवन्तरीलाई शेयर परेकोे थियो। तर, अहिले उक्त नतिजा वेबसाइटबाट हटाएर हितग्राही खाताबाट मात्र नतिजा हेर्न सकिने बनाइएको उजुरीकर्ताको दाबी छ।

प्रतिक्रिया दिनुहोस्