बन्द गराएको सडक सुचारु गर्न माग



नेपाल समाचारपत्र,भक्तपुर

स्थानीयबासीले चाँगुनारायण नगरपालिका न्याचोपौवा बुढाथोकी माझ गाउँ ज्योतिलिङ्गेश्वर सडक स्थानीय प्रकाश बुढाथोकीले एकतर्फी रूपमा बन्द गराएको भन्दै सुचारु गर्न प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई पीडित स्थानीय बासिन्दाले हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन्।

२०६५ सालदेखि आवाजजावत गर्दै आएको बाटो बुढाथोकीले डोजर लगाएर बन्द गरिदिएपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–९ न्याचोपौवाका बासिन्दालाई आवतजावत गर्न समस्या भएको गुनासो गरे। आफ्नै घर जाने बाटो व्यक्तिले बन्द गराएपछि आफ्नै गाउँमा नाकाबन्दीको मारमा परियो भन्दै यहाँका बासिन्दाले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा न्यायको माग गरेका हुन्।

प्रजिअ पोखरेललाई पीडित स्थानीय बासिन्दाले हस्ताक्षरसहित बाटो सुचारु गरिदिन माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्। उक्त सडकमा तत्कालीन चाँगुनारायण गाविस, हालको चाँगुनारायण नगरपालिकाको बजेटबाट ग्राभेल गरिएको र शहरी विकास प्राधिकरणको बजेटबाट ड्रेन तथा पर्खाल लगाएकामा ड्रेन र पर्खालसमेत पुरेर ५० मिटर सडक बन्द गराएपछि गाउँका बासिन्दाको आवतजावत रोकिएको स्थानीय सानुकाजी बुढाथोकीले बताउनुभयो।

स्थानीय प्रकाश बुढाथोकीले डोजर लगाएर बाटोलाई खेतमा परिणत गरेपछि स्थानीय २० घर परिवारका बासिन्दालाई विद्यालय जान, बजार आउन जानसमेत नसक्ने भएपछि स्थानीयको जनजीवन कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी पोखरेललाई जानकारी गराएका हुन्।

प्रजिअसमक्ष नेपाली कांग्रेसका स्थानीय नेता शिवहरि केसीले स्थानीयलाई अन्याय परेकाले सोही सडकलाई पुनः खुलाउनुपर्ने बताउनुभयो। सडक पुर्ने प्रकाश बुढाथोकीले १० वर्षअघि आफ्नो जग्गाको बीचबाट सडक निर्माण गरेर लगेको बताउँदै हाल जग्गा बिग्रने भएपछि सडक पुरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्