रसुवामा ट्राउट माछा विक्रिबाट वार्षिक ६० लाख आम्दानी



रसुवा, फागुन, १६
रसुवामा गत वर्ष रेन्वो ट्राउट माछा विक्रिबाट माछापालक कृषकले ६० लाख आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाको दुई वटा गाविसमा सञ्चालित सात वटा व्यवसायिक माछा फार्मले माछा विक्रिबाट ६० लाख आम्दानी लिन सफल भएका हुन् । धुन्चे र स्याफ्रु गाविसमा सञ्चालित फार्ममा ८० वटा रेसवेबाट ६.६ मेट्रिक टन माछा उत्पादन भएको छ ।

जिल्लामा उत्पादन भएका माछा मध्ये ८० प्रतिशत जिल्ला भित्र नै खुद्रा विक्रि हुने गरेको छ भने २० प्रतिशत माछा छिमेकी मुलुक चीनको केरुङ र काठमाण्डौमा निर्यात हुने गरेको जिल्ला कृषि विकास कार्यलय रसुवाले जानकारी दिएको छ । जिल्लामा अहिले माछाको प्रतिकेजी १३ सय रुपँयामा विक्रि भैरहेको कृषकले वताएका छन् ।

जिल्लामा रहेका तीन वटा निजि फार्महरुले माछाका भुरा समेत उत्पादन गर्दै आएका छन् । तीन वटा फार्ममा वार्षिक दुई लाख भुरा उत्पादन हुने गरेको वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाँइले जानकारी दिनुभयो । रेन्वो ट्राउटको भुरा विक्रिबाट रसुवामा नीजि क्षेत्रले वार्षिक १० लाख भन्दा बढि आम्दानी लिने गरेका छन् ।

रसुवामा २०६१ सालदेखि व्यवसायिक रेन्वो ट्राउट माछा पालन सुरु भएका थियो । धुन्चेका लवाङ ग्याल्वो घलेले रसुवामा रेन्वो ट्राउट सुरु गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्