इन्धन सहज हुने निगमको दाबी



दीपेन्द्र थापा, काठमाडौं
क महिनाभित्र पेट्रोलियम व्यवसायी, ट्यांकर चालक र ढुवानी मजदुरले राखेको माग सम्बोधन गर्ने सहमति भएसंँगै शुक्रबारबाट आपूर्ति सहज हुने भएको छ।

ट्यांकर चालक र ढुवानी व्यवसायी मजदुरले नेपाल आयल निगमको विनियमावली संशोधनप्रति विरोध जनाउँदै ढुवानीको काम रोकेका थिए। निगमले संशोधनका विषयमा निर्णय गर्न व्यवसायीसँग एक महिना समय मागेपछि आन्दोलनका सबै कार्यक्रम स्थगित गरेर डिपोबाट तेल उठाउने भएका छन्। त्यस्तै व्यवसायीको आन्दोलनका कारण असहज बन्दै गएको पेट्रोलियम ढुवानी अब सहज हुने निगमले जनाएको छ। निगमका प्रवक्ता भानुभक्त खनालले शुक्रबार र शनिबार सार्वजनिक बिदा भए पनि थानकोट डिपोबाट इन्धन वितरण गरिने जानकारी दिनुभयो।

नेपाल समाचारपत्रसँग कुरा गर्दै निगमका प्रवक्ता खनालले भन्नुभयो– ‘विनियमावली सञ्चालक समितिले बनाएको र संशोधन पनि सञ्चालक समितिले नै गर्ने भएकाले आवश्यक छलफल गरेर समस्याको समाधान गर्नको लागि एक महिनाको समय मागिएको हो।’

प्रवक्ता खनालले अवरोध गर्ने व्यवसायीलाई कारबाही गर्ने अधिकार आयल निगमसंँग भएपनि त्यसो गर्दा बजारमा झन् अभाव हुने हुँदा वार्ता र छलफलबाटै समस्या समाधान गर्न लागिपरेको बताउनुभयो।

आयल निगमले ढुवानी विनियमावलीमा २०७३ संशोधन गर्दै व्यवसायीले कम्तीमा ५ वटा ट्यांकर चलाउनैपर्ने र प्रत्येक ट्यांकरमा २ सय लिटर कम इन्धन देखिए दोब्वर कारबाही गर्ने व्यवस्था गरेपछि व्यवसायीले तेल ढुवानीमा अवरोध गरेका हुन्। व्यवसायीले विनियमावली संशोधन गरी १ व्यक्ति १ ट्यांकरको प्रावधान लागू गर्न माग गर्दै आएका छन्। प्रतिव्यक्ति एक ट्याङ्कर र प्रत्येक ट्याङ्करमा २ सय लिटरसम्म तेल कम देखिए दोब्वर जरिवाना गर्ने प्रावधान हटाउनुपर्ने माग व्यवसायीको छ।

आयल निगमको संशोधित विनियमावलीमा मापदण्डभन्दा बढी तेल हराएको पाइए व्यवसायी वा चालकले हराएको तेलको बजार मूल्यभन्दा दोब्बर क्षतिपूर्ति तिराउने व्यवस्था गरेको थियो। सोही व्यवस्थाको विरोधमा इन्धन व्यवसायी, ट्यांकर चालक तथा मजदुर आन्दोनमा उत्रिएका थिए। आन्दोलनको कार्यक्रम स्थगित भएलगतै इन्धन आपूर्तिमा सहजता आउने आयल निगमका प्रवक्ता भानुभक्त खनालले दाबी गर्नुभयो।

यता बजारमा भने नियमित भन्दा दोब्वर आपूर्ति गरिरहँदा पनि गत शुक्रबार इन्धन नभर्दा शनिबारदेखि राजधानीमा इन्धन अभाव देखिएको थियो। तेल ढुवानी व्यवसायीले दबाबस्वरूप शुक्रबार इन्धन लोड नगरेका कारण बजारमा उपभोक्ताको लाइन देखिएको छ। देश मा बढ्दै गएको राजनीतिक घटनाक्रम र आन्दोलनका कारण उपभोक्ता त्रसित देखिएको हुँदा इन्धन जगेडामा राख्न खोज्दा अभाव देखिएको निगमको भनाइ छ। ग्यास तथा तेलको आपूर्ति सहज रुपमा भइरहेकाले संयम रहन निगमले आग्रह गरेको छ।

निगमले आइतबार ८ सय २५ किलोलिटर, सोमबार ७ सय २३ किलोलिटर, मंगलबार ८ सय ५० किलोलिटर पेट्रोल आपूर्ति गरेको थियो। तयस्तै बुधबार ५ सय १५ किलोलिटर पेट्रोल र ५ सय ९७ किलोलिटर डिजेल आपूर्ति भएको र बिहीबार पनि सोही हाराहारीमा आपूर्ति गरेको निगमले जनाएको छ। यो नियमित आपूर्तिभन्दा दोब्वर रहेको निगमको दाबी छ। उपत्यकामा सामान्य अवस्थामा दैनिक ३ सयदेखि ४ सय किलोलिटरको माग रहेको छ।

प्रतिक्रिया दिनुहोस्