रिबनका पछिपछि प्रधानमन्त्री



मधुसूदन रायमाझी, काठमाडौं
धानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रिबन काट्ने कार्यक्रममा नजाने प्रतिबद्धता भुल्दै दैनिकजसो रिबन काट्ने कार्यमा व्यस्त बन्दै आउनुभएको छ। प्रधानमन्त्री भएलगत्तै उहाँले सिंहदरबारमै बसेर परिणाम निकाल्ने घोषणा गर्नुभएको थियो। तर, आफूले गरेको प्रतिबद्धता विपरीत दैनिक रूपमा सभा सम्मेलन र महोत्सव उद्घाटन गर्न उहाँलाई भ्याई नभ्याई हुने गरेको छ।

विकास निर्माणको आयोजना अनुगमनभन्दा रिबन काट्ने काममा प्रधानमन्त्री प्रचण्डले बढी समय खर्च गर्दै आउनुभएको छ। प्रचण्डले रिबन काट्ने कार्यक्रम नराख्न सचिवालयलाई निर्देशन दिए पनि पार्टीका नेताहरूको आग्रह भन्दै उहाँ उद्घाटनको कार्यमा राजधानीभित्र र जिल्लामा हुने कार्यक्रममा अधिकांश समय बिताउँदै आउनुभएको छ।

संविधान कार्यान्वय, निर्वाचनको मिति घोषणा, संविधान संशोधन विधेयकलगायतको विषयमा छलफल गर्न आवश्यक भए पनि आइतबार प्रधानमन्त्री तथा आफूलाई कट्टर कम्युनिस्ट नेता पनि भन्न रुचाउने प्रचण्ड सिरहाको लहानमा श्रीमद् भावगत् महापुराणको ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्न जानुभयो।

दैनिक रूपमा सभा सम्मेलनको उद्घाटन गर्न बढी समय खर्चिएको भन्दै प्रचण्डको पार्टीभित्रबाटै आलोचना हुने गरेको छ। तर प्रचण्डले आफ्नो बाध्यता बुझिदिन पनि पार्टीका नेताहरूलाई आग्रह गर्दै आउनुभएको छ। मधेसी मोर्चालाई सहमतिमा ल्याउन नसक्दा सरकारले पटक–पटक घोषणा गर्ने भनिएको स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सकेको छैन।

माघ महिनामा मात्र प्रचण्डले झन्डै तीन दर्जनभन्दा बढी कार्यक्रम उद्घाटन गर्नुभएको थियो। प्रतिबद्धता जाहेर गरेको केही साताबाहेक अधिकांश समय प्रधानमन्त्रीले राजनीतिक भेटघाट र उद्घाटन कार्यक्रममा समय बिताउँदै आउनुभएको छ।

प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्रीले संविधान कार्यान्वयन, निर्वाचनको मिति र दलीय छलफल छोडेर सार्वजनिक कार्यक्रममा सहभागी नभएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘महत्त्वपूर्ण काम छोडेर प्रधानमन्त्री कार्यक्रममा हिँड्नुभएको छैन, जनताको अपेक्षा पूरा गर्नका लागि समय व्यवस्थापन गरेर कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ।’

प्रधानमन्त्री प्रचण्ड बिहान ६ बजेदेखि राति १० बजेसम्म कार्यक्रम र भेटघाटमा व्यस्त हुँदै आउनुभएको छ। उहाँले ठूलो विकास आयोजनाको अनुगमन गर्ने र समयसीमाभित्र नै कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिँदै आउनुभएको छ। ‘कार्यकारी प्रधानमन्त्री जनताले बोलाएको ठाउँमा जान हुन्न भन्ने कुरा हुन सक्दैन’, स्वकीय सचिव मल्लले भन्नुभयो– ‘प्रतिबद्धता भुल्नु भएको छैन। जनअपेक्षाअनुसार जनताको कुरा सुन्ने काममा सक्रिय हुँदै आउनभुएको छ।’ तथापि, प्राथमिकता केलाई दिनुपर्ने हो भन्ने कुरा उहाँले बुझेको पाइएको छैन। माओवादी केन्द्रकै एक नेता व्यंग्य गर्दै भन्छन्– ‘कमरेडलाई टिभीमा थोपडा देखाउन के साह्रो रहर लागेको हो बुझ्न सकिएको छैन। काम कुरो एकातिर छ उहाँ कुम्लो बोकेर ठिमीतिर दौडिरहनुभएको छ।’

प्रतिक्रिया दिनुहोस्