चोरी तस्करीबाट राजस्व संकलनमा धक्का



नेपाल समाचारपत्र
भद्रपुर
स्थानीय कारोबारी समूहले अन्य जिल्लाबाट चोरी तस्करीबाट ठूलो परिणाममा सामान भित्र्याउन थालेपछि भद्रपुर छोटी भन्सारको राजस्व संकलनमा गिरावट आउन थालेको छ।

महिनामा डेढ करोड बढी राजस्व संकलन हुने भद्रपुर छोटी भन्सारमा क्रमशः प्रत्येक महिना राजस्वमा गिरावट आउन थालेको भन्सार तथ्यांकले देखाएको छ। चालू आवको माघ २६ गतेसम्म छोटी भन्सारमा ८ करोड ६ लाख ५८ हजार बराबर राजस्र्व संकलन भएको छ। जसमध्ये साउनमा १ करोड ४२ लाख, भदौ १ करोड ७९ लाख, असोजमा १ करोड ४४ लाख, कात्तिकमा १ करोड २४ लाख, मंसिरमा १ करोड १२ लाख, पुसमा ८४ लाख ५८ हजार र माघ २६ गतेसम्म ५३ लाख ३९ हजार रुपियाँ राजस्व सकलन भएको भन्सार कार्यालयले जनाएको छ।

भदौ महिनामा राजस्वमा उल्लेख वृद्धि देखिए पनि असोज, कात्तिक र मंसिरमा राजस्व ओरालो लाग्दै आएको देखिन्छ। पुसमा करोड नपुगेको अवस्थामा माघमा पुस महिना जतिको राजस्व पनि संकलन नहुने भन्सारका अधिकृत विमल पौडेलले बताउनुभयो। भद्रपुर भन्सारबाट एक दर्जन बढी कारोबारीले ठूलो परिणाममा लत्ताकपडा कारोबार गर्दै आइरहेकोमा अहिले एक जना व्यापारीले मात्र लत्ताकपडाको कारोबार गर्दै आइरहेकाले राजस्वमा गिरावट आएको उहाँको भनाइ छ।

बजारमा लत्ताकपडाको माग हँुदाहँुदै कहाँबाट सामान भित्रिँदै छ, अहिले भन्सार कर्मचारी आफैं चिन्तित बनेको अधिकृत पौडेलले बताउनुभयो। भद्रपुर नाकाबाट भित्रिने सामान अन्य जिल्ला प्रयोग गरी भित्रिरहेको जानकारीमा आएकाले तस्करीकै माध्यमबाट सामान नेपालका बजारमा आइरहेको हुन सक्ने उहाँको भनाइ छ। भद्रपुर भन्सारमा राजस्व गिरावटको विषयमा मेची भन्सार कार्यालय काँकरभिट्टाले पनि चासोका साथ हेरिरहेकाले भन्सार राजस्व चुहावट जिल्ला समन्वय समितिमा समेत कुरा पुगिसकेको उहाँले बताउनुभयो। यसबारे थप जानकारी लिन भारतको गलगलियाका भन्सार कर्मचारीसंँग बुझने उहाँको भनाइ छ।

यता व्यापारी स्रोतका अनुसार भद्रपुरका कारोबारी सुनसरीको रामनगर भुट्टा, भन्टाबारी र इलामको पशुपतिनगर नाकालाई तस्करीको ट्रान्जिट प्वाइन्ट बनाएका छन्। भारतको बासमतिया नाकाबाट सुनसरीको विभिन्न नाकाबाट इनरुवा हुँदै ठूलो परिणामको सरसामान पूर्वका बजार आउने गरेको प्रहरी स्रोतको दाबी छ। त्यस्तै पशुपतिनगर अन्तर्गत रहेका छोटी भन्सार कार्यालयका कर्मचारी, इलाका प्रहरी कार्यालय पशुपतिनगर र सशस्त्र प्रहरी बेस क्याप फिक्कलको सेटिङमा झापाका तस्करी समूहले अवैध धन्धा चलाउँदै आएको छ।

भद्रपुरका कारोबारीले इलामको हिले, छिरुवा, छब्बिसे भन्सार नाका हुँदै पशुपतिनगरको पेट्रोल पम्पको सडक प्रयोग गरी झापाको विर्तामोडमा सामान ल्याएर भण्डार गर्दै आइरहेको व्यापारी स्रोतकै दाबी छ। कारोबारीले समय अनुकुल मिलाएर पिकअप भ्यान र रात्रीसेवाका बस हालेर लाखौं मूल्य बराबरकोसामान ल्याउँदै आएका छन्। यता एक कारोबारीले भने, भन्सारमा सेटिङ गर्न नसक्दा हामी सुनसरी गएका हौं, ढुवानी खर्च केही बढी लागे पनि त्यहाँबाट काम सजिलै भइरहेको छ। हामीले सबै पक्षलाई मिलाएकाले कुनै अवरोध छैन, उनले भने।

सुनसरी र पशुपतिनगर नाकाबाट भन्सार छलेर भित्राइने सरसमान कारोबारीले १५ प्रतिशत कमिसन लिएरै काम गर्दै आइरहेको छ। यसले भन्सारबाट काम गर्ने कारोबारीमा असर पर्नुका साथै भद्रपुर भन्सारमा पनि प्रत्यक्ष मार परेको छ। सुनसरी र पशुपतिनगरबाट भित्रिनेसामान झापाको विर्तामोड, दमकसहित उर्लाबारी, इटहरी, धरान, धनकुटासम्मको बजारमा पुर्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्