५३ प्रतिशतसम्म विद्युत् चोरी



नेपाल समाचारपत्र
हेटौंडा
नेपाल विद्युत् प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयमातहत कार्यालयमा ५३ प्रतिशतसम्म विद्युत् चोरी हुने गरेको पाइएको छ। हेटौंडा क्षेत्रीय कार्यालयअन्तर्गत् कलैया र गौर वितरण केन्द्रबाट गत आर्थिक वर्षमा ५२ करोड ६५ लाख ४८ हजार रुपियाँको विद्युत् चुहावट भएको हो।

थोरैमात्र प्राविधिक चुहावट भए पनि अधिकांश अवैध तरिकाले चुहावट भएको हो। कर्मचारीको मिलेमतोमा चोरी भएको दाबी गरिएको हो। विशेषगरी तराईका जिल्लामा कर्मचारीको मिलेमतोमा विद्युत् चोरी भएको पाइएको छ। ग्रामीण क्षेत्रका साना घर र पसलले हुकिङ गरेर विद्युत् चोरी गरेका छन् भने ठूला उद्योग, कलकारखाना, होटल, व्यावसायिक प्रतिष्ठानमा भने प्राधिकरणका कर्मचारीको मिलेमतोमा बिजुली चोरी हुने गरेको छ।
ठूला प्रतिष्ठानमा विद्युत् चोरीमा नेपाल विद्युत् प्राधिकरण हेटौंडा क्षेत्रीय कार्यालयका उच्च तहका कर्मचारीको मिलेमतोमा क्षेत्रका जिल्लाहरूमा विद्युत् चोरी हुने गरेको रहस्य खुल्दै गएको छ। प्राधिकरणको क्षेत्रीय कार्यालयअन्तर्गत गौर वितरण केन्द्रबाट वितरण गरिएको विद्युत्मा ५३ दशमलब ५१ प्रतिशत चुहावट भएको छ। थोरै प्राविधिक चुहावट भए पनि अधिकांश कर्मचारीको मिलेमतोमा चोराइएको हो। गौर वितरण केन्द्रमा गत एक आर्थिक वर्षमा ३३ करोड ३८ लाख ३१ हजार रुपियाँ बराबरको विद्युत् चोरी भएको थियो।

गत आर्थिक वर्षमा उक्त केन्द्रबाट वितरण भएको विद्युत् ४ करोड १७ लाख २८ हजार ९ सय ९४ युनिट चुहावट भएको थियो। ग्रिड महाशाखाले उपलब्ध गराएको आधा भन्दा धेरै चोरी भएर सकिने गरेको छ। विद्युत् बढी चुहावट हुनुमा कर्मचारीको मिलेमतो छ वा छैन भन्ने अनुसन्धानपछि मात्र थाहा हुने प्राधिकरण हेटौंडा वितरण केन्द्रका सहायक निर्देशक सीताराम तखासेले बताउनुभयो।

विद्युत् चुहावटका विषयमा धेरै⁄थोरै भन्ने कुरा आफूले तथ्यांक हेरेरमात्र भन्न सक्ने हेटौंडा क्षेत्रीय कार्यालय प्रमुख पदमकान्त झाले बताउनुभयो। गौर वितरण केन्द्रमा ग्रिड महाशाखाले गत एक आर्थिक वर्षमा ७ करोड ७९ लाख ७८ हजार ९ सय ९७ युनिट विद्युत् उपलब्ध गराएको थियो। तर, यसमध्ये गौर वितरण केन्द्रले ३ करोड ६२ लाख ५० हजार १२ युनिट बिक्री गरेको रकममात्र संकलन गर्न सकेको छ। अरू सबै विद्युत् चुहावटमा गरिएको हो।

गौरमा भन्दा कलैया वितरण केन्द्र पनि खासै फरक छैन। उक्त केन्द्रअन्तर्गत् गाउँ र शहरमा गत एक आर्थिक वर्षमा ५० दशमलब ३६ प्रतिशत विद्युत् चुहावट भएको छ। केही प्रतिशत प्राविधिक चुहावटमा गए पनि अन्य कर्मचारीको मिलेमतोमा चोराउने काम भएको हो।

कलैया वितरण केन्द्रअन्तर्गत् विभिन्न क्षेत्रमा गरी गत एक आर्थिक वर्षमा १९ करोड २७ लाख १६ हजार रुपियाँ बराबरको विद्यु्त चोरी भएको रेकर्ड छ। उक्त केन्द्रमा बढीजसो कर्मचारीको मिलेमतोमा चोरीका श्रृंखला बढ्दै जाँदा ५० प्रतिशतभन्दा बढी विद्युत् चोरी भएको त्यहाँका एक कर्मचारीले बताए।

उक्त वितरण केन्द्रलाई गत आर्थिक वर्षमा ४ करोड ७८ लाख ३३ हजार ३ सय ७० युनिट विद्युत् उपलब्ध गराएको थियो। उपलब्ध गराइएको मध्ये ५० प्रतिशतभन्दा बढी युनिट अर्थात् २ करोड ४० लाख ८९ हजार ६ सय १६ युनिट विद्युत् चुहावट भएको कलैया वितरण केन्द्रको तथ्यांक छ। उक्त वितरण केन्द्रले गत आर्थिक वर्षमा २ करोड ३७ लाख ४३ हजार ७ सय ५३ युनिट विद्युत् बिक्री गरेको रकम संकलन गर्न सकेको छ।

प्रतिक्रिया दिनुहोस्