काठमाडौं, (नेस)
संवैधानिक परिषद्को शुक्रबार बसेको बैठकले निर्वाचन आयोगमा तीन निर्वाचन आयुक्त सिफारिस गरेको छ। आयोगमा रिक्त रहेका तीन निर्वाचन आयुक्तहरूमा नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार साहलाई सिफारिस गरिएको जनाइएको छ।
सिफारिस भएका तीन आयुक्तको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित पाँच पदाधिकारी रहने व्यवस्था भए पनि अहिले प्रमुख निर्वाचन आयुक्त र एक आयुक्त मात्रै रहेका छन्।
शुक्रबार सिफारिस गरिएका आयुक्तमध्ये पौडेल नेपाली कांग्रेस, शाह माओवादी र दाहाल एमालेको कोटामा सिफारिस भएको जनाइएको छ।
संवैधानिक परिषद्को शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश सुशीला कार्की, सभामुख ओनसरी घर्ती, उपसभामुख गंगाप्रसाद यादव र मुख्य सचिव डा. सोमलाल सुवेदी सहभागी रहनु भएको थियो।











प्रतिक्रिया