१३ करोडको विद्युत् चुहावट



नेपाल समाचारपत्र
हेटौंडा
हेटौंडा क्षेत्रमा धेरै विद्युत् चोरी हुने गरेको देखिएको छ। गत आर्थिक वर्षमा हेटौंडा वितरण केन्द्रअन्तर्गतका सबै १३ वटा फिडरबाट १३ करोड ११ लाख रुपियाँभन्दा बढीको विद्युत् चुहावट भएको पाइएको हो।

केन्द्रबाट गत आर्थिक वर्षमा एक करोड ६३ लाख ९५ हजार ११ युनिट विद्युत् चुहावट भएको छ। नेपाल विद्युत् प्राधिकरण ग्रिड महाशाखाले हेटौंडा वितरण केन्द्रलाई गत आर्थिक वर्षमा १३ करोड ६२ लाख ५३ हजार ५ सय ७८ युनिट विद्युत् दिएको थियो। ११ करोड ९८ लाख ५८ हजार ५ सय ६७ युनिटमात्र खपत भएको नेपाल विद्युत् प्राधिकरण हेटौंडा वितरण केन्द्र प्रमुख ऋषिकुमार वर्णवालले जानकारी दिनुभयो। बाँकी युनिट चुहावट भएको प्राधिकरणको रेकर्डमा उल्लेख छ। वितरण केन्द्रअन्तर्गत उद्योग तथा कलकारखाना धेरै भएकाले चुहावट अत्यन्त न्यून हुनुपर्ने भए पनि धेरै युनिट चुहावट भएको प्राधिकरणका एक कर्मचारीले बताए।

उद्योगलाई विद्युत् उपलब्ध गराउँदा एक प्रतिशत पनि चुहावट नभएको घटना रहेको बताउँदै ती कर्मचारीले भने–‘ग्रामीण क्षेत्रमा चोरी भएको छ। उद्योगमा जति विद्युत् उपलब्ध गराइएको थियो, त्यति नै खपत हुनुपर्ने र चुहावट नगन्य हुनुपर्नेमा धेरै चुहावटको रेकर्ड छ।’

हेटौंडा वितरण केन्द्रले एचआईडी, चौघडा, युनिलिभर, भैंसे, भीमफेदी, हेटौंडा सिमेन्ट, शिवम् सिमेन्ट, भुटनदेवी, ग्रामीण, वंशगोपाल, स्टेसन ट्रासफर्मर गरेर ११ वटा फिडरबाट उपभोक्तालाई विद्युत् दिँदै आएको छ। प्रत्येक फिडरका लागि ग्रिड महाशाखाले छुट्टाछुट्टैरूपमा विद्युत् दिँदै आएको छ। त्यहीअनुसार केन्द्रले वितरण गर्ने महाशाखाका सहायक इन्जिनियर कृष्णप्रसाद देवकोटाले बताउनुभयो।

ग्रिडले वितरण केन्द्रलाई दिएको विद्युत् परिमाणको रेकर्ड राखे पनि वितरण केन्द्रले त्यसबाट वितरण गरेर रकम संकलन गर्ने, चुहावट नियन्त्रण गर्ने काम गर्नुपर्ने प्रावधान छ। केन्द्रले हेटौंडा औद्योगिक क्षेत्रको एचआईडी फिडरलाई दिएको विद्युत्मध्ये गत एक आर्थिक वर्षमा ६ लाख ५८ हजार ३ सय ९१ युनिट विद्युत् चुहावट भएको छ। उक्त चुहावटलाई रकममा हेर्दा ५२ लाख ६७ हजार रुपियाँ हुने जनाइएको छ।

औद्योगिक क्षेत्रका उद्योगलाई गत एक आर्थिक वर्षका १२ महिना अवधिमा ग्रिड महाशाखाले एक करोड ५६ लाख ८ हजार १९ युनिट विद्युत् दिएको थियो। तर, उक्त परिमाणमध्ये बितरण केन्द्रले एक करोड ४९ लाख ४९ हजार ६ सय २८ युनिटमात्र खपत गरेर त्यसबापत महसुल संकलन गरेको छ।

हेटौंडा सिमेन्ट उद्योगले गत आर्थिक वर्षमा पाएको एक करोड ९२ लाख २३ हजार ९ सय १३ युनिटमा त्यत्ति नै युनिट खपत गरेको छ। उद्योगले चुहावट नगरेको प्राधिकरणको रेकर्डमा छ।

प्रतिक्रिया दिनुहोस्