सिजनमा पनि सुन्तला बिक्री भएन



रविन भट्टराई, ताप्लेजुङ

जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ। सुन्तलाको फुल फुल्ने समयमा मौसमले साथ दिएको र कुनै रोग नलागेकाले यस वर्ष उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ। यस वर्ष ताप्लेजुङमा १ हजार ९ सय २५ मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका प्रमुख रविन्द्र बहादुर प्रधानले बताउनुभयो। अघिल्लो वर्ष १ हजार ७ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो।

ताप्लेजुङमा ४ सय ४१ हेक्टर क्षेत्रफलमा सुन्तला लगाइएको भए पनि ३ सय ५० हेक्टर क्षेत्रफलको सुन्तलाले राम्ररी उत्पादन दिइरहेको कृषि कार्यालयको तथ्यांकमा उल्लेख छ। बाँकी स्थानको सुन्तला भर्खरै लगाएकाले उतपादन दिन बँँकी रहेको कृषि कार्यालयका प्रमुख प्रधानको भनाइ छ।

उत्पादन क्षेत्र बढेसँगै प्रत्येक वर्ष सुन्तला उत्पादनमा वृद्धि हुँदै गएको छ। तर, सुन्तलाले बजार नपाएको कृषकले गुनासो गरेका छन्। धेरै लगानीमा सुन्तला खेती गरी उत्पादन बढाए पनि पछिल्लो समय सुन्तला खरिद गर्न ठेकेदार बगानमा नआउँदा सुन्ताला टिप्ने समय घर्किसक्दा समेत सुन्तला बोटमा नै रहेको ताप्लेजुङ नगरपालिकाका कृषक कृष्णप्रसाद बरालको भनाइ छ।

बोटमा फलेका सुन्तला आफैंले बिक्रीका लागि विभिन्न स्थानमा लैजान लामो समय लाग्ने र डोकामा बोकेर सदरमुकाम लगेर दिनभरि कुरेर एक⁄एक दाना गरेर बिक्री गर्न पनि महिनौं लाग्ने हुँदा बिक्री गर्न समस्या भएको कृषकले बताएका छन्।

पहिले गाउँभरीको सुन्तला ट्रकमा लोड गरेर जिल्ला बाहिर लैजान पाँचथर, इलाम र झापाबाट ठेकेदार आउने गरे पनि पछिल्लो समय अन्य जिल्लामानै ताप्लेजुङमा भन्दा सस्तोमा सुन्तला पाउन थालेकाले खरिदका लागि आउन छाड्दा सुन्तलाले बजार नपाएको कृषकको बुझाइ छ। तर, जिल्ला कृषि विकास कार्यालय भने ताप्लेजुङमानै उत्पादित सुन्तलाको पर्याप्त बजार रहेको बताउँदै आएको छ।

कृषकले सुन्तलाको मूल्य समायोजन गर्न नसक्दा बिक्री र खपतमा समस्या भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रधान बताउँछन्। राम्रो हावापानी र माटो हुँदा जिल्लामा प्रत्येक वर्ष सुन्तला उत्पादन वृद्धि भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्