अन्तरजातीय दम्पतीद्वारा एउटै डोरीमा झुण्डिएर आत्महत्या



भद्रपुर, (नेस)
झापाको कनकाई नगरपालिका–७ दुर्गापुरका अस्मिता तोलामी सार्की र सोही स्थानका ईश्वर भट्टराईले शुक्रबार बिहान एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका छन्।

कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २० वर्षीया तोलामी र उनकै छिमेकी २२ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एकै ठाउँमा आत्महत्या गरेका हुन्। इलाका प्रहरी कार्यालय विर्तामोडका इन्सपेक्टर केशवकुमार थेबेले दिएको जानकारीअनुसार बिहान ५ बजे घरबाट निस्किएका उनीहरूले प्लास्टिकको डोरीको पासो लगाइ आत्महत्या गरेका हुन्। आत्महत्या गरेका उनीहरू अंगालोमा बाँधिएर झुण्डिएको देख्दा प्रेम सम्बन्धका कारण यस्तो निर्णय गरेको हुनुपर्ने इन्सपेक्टरले अनुमान गर्नुभयो।

माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक स्रोतले जनाएको छ। अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसँग निश्चित भएर फूलमाला भएको थियो। उनी स्थानीय भृकुटी उच्च माविमा अध्ययनरत थिइन्।

समाजमा अन्तरजातीय विवाहले अझै पनि सहज मान्यता पाएको छैन। त्यसैले यदाकदा प्रेममार्फत समाजमा अन्तरजातीय वैवाहिक सम्वन्ध स्थापित हुने गरे पनि पूर्णरूपमा अन्तरजातीय विवाहले मान्यता नपाउँदा आत्महत्यासम्मका घटना समाजमा घट्ने गरेका छन्। मृतक भट्टराई भने सवारी चालकको काम गर्दै आएका थिए। उनले ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्