लक्ष्यभन्दा बढी भन्सार राजस्व संकलन



कुमार श्रेष्ठ, बाँके
नेपालगन्ज भन्सार कार्यालयले कडाई गरेपछि राजस्वमा वृद्धि भएको छ। नेपालगन्जका व्यापारीको चर्को दबाबपछि भन्सार कार्यालयले भारतबाट आयात हुने सामानमा कडाईका साथ भन्सार लगाएपछि राजस्वमा वृद्धि भएको हो।

भन्सार कार्यालयका प्रवक्ता लक्ष्मीदत्त जोशीले सय रुपियाँबढीको सामानमा भन्सार लगाएको बताउनुभयो। सहज परिस्थिति र सय रुपियाँभन्दा बढीको सामान ल्याउँदा भन्सार लगाएपछि चालू आर्थिक वर्षको प्रत्येक महिनामा कार्यालयले लक्ष्यभन्दा बढी राजस्व उठाएको छ। प्रवक्ता जोशीका अनुसार, साउनमा १ सय १७, भदौमा १ सय २४, असोजमा १ सय १८, कात्तिकमा १ सय ११, मंसीरमा १ सय ३५ र पुसमा १ सय २ प्रतिशत राजस्व संकलन भएको छ।

आर्थिक वर्ष २०७३⁄७४ मा ५ अर्ब २० करोड राजस्व संकलन गर्ने लक्ष्य रहेको नेपालगन्ज भन्सारले अहिलेसम्म ५४ प्रतिशत उपलब्धि हासिल गरिसकेको छ।

नेपालगन्ज नाकाको राजस्व संकलनको प्रमुख स्रोत पेट्रोलियम पदार्थ हो। प्रवक्ता जोशीका अनुसार, ४५ प्रतिशत राजश्व पेट्रोलियम पदार्थबाट नै आउँछ। त्यसपछि चामल, चिनी, सिमेन्ट, अटो रिक्सा, मोटरसाइकललगायत राजस्वका स्रोत हुन्।

विदेशबाट ल्याउने सय रुपियाँ बढीको सामानमा भन्सार तिर्नुपर्ने व्यवस्था भए पनि नेपालगन्ज भन्सारले घरायसी सामानलाई छुट दिँदै आएको थियो। पछिल्लो वर्षमा घरासयी सामानका नाममा ‘क्यारियर’ लगाएर सामान ल्याउने र थोकमा बिक्री गर्ने परिपाटी झाँगिएको थियो। चालू आर्थिक वर्षमा नै राजस्व कार्यालय र प्रहरीले कोहलपुरमा ठूलो मात्रामा चिनी, नेपालगन्जमा चामल बरामद गरेपछि भन्सारलाई कडाई गर्न दबाब परेको थियो। त्यसका बाबजुद नेपालगन्ज उद्योग बाणिज्य संघले भन्सारमा कडाई गर्न चर्को दबाब दिएपछि भन्सार कार्यालय सय रुपियाँ बढीको सामानमा भन्सार लगाउन बाध्य भएको थियो। सय रुपियाँ बढीको सामान ल्याउँदा नै भन्सार तिर्न बाध्य पर्ने र त्यो गर्दा भीडभाड भएर कोही एक घण्टा अल्मलिन पर्यो भने अर्कोपटकबाट ऊ भारतमा सामान लिन जान छोड्छ भन्ने नेपालगन्जका व्यवसायीको बुझाई रहेको छ।

विगतमा पनि भन्सार प्रहरीले कपडा क्यारिङ गर्ने महिलासँग भएको झगडापछि कडाई गरेको थियो। बीचमा त्यो हटेको थियो। पछिल्लो महिनादेखि फेरि कडाई गरिएको छ। आफ्नै घरका लागि ल्याउनेलाई केही बढाएर ल्याउन दिइए पनि क्यारिङ गर्नेलाई कडाई गरिएको प्रत्यक्षदर्शीहरू बताउँछन्। भन्सारले सधैं यसरी नै कडाई गरेमा राजस्व वृद्धि हुनुका साथै नेपालीहरू भारततिर जान कम हुने नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्