धरानको फेस्टिबलमा फिल्मका समस्याको समाधान खोजी


सन्तोष काफ्ले
धरान

धरानमा इन्टरनेसलन फिल्म फेस्टिबल अफ नेपाल २०१७ (इफोन) शुरू भएको छ। अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा बुधबारदेखि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र इन्टरनेसलन फिल्म फेस्टिबल अफ नेपाल २०१७ (इफोन) शुरू भएको हो।

माघ २ गतेसम्म चल्ने फेस्टिबलको जुरी समूहका अभिनेता राजेश हमालले क्ल्याप हानेर शुभारम्भ गरेका थिए। फेस्टिबल कार्यक्रममा बोल्दै अभिनेता हमालले पहिलोपटक भएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलले नेपाली फिल्म क्षेत्रको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। फेस्टिबल संयोजक केपी पाठकले पहिलोपटक १ नम्बर प्रदेशको धरानमा आयोजना गरिएको फेस्टिबल हरेक वर्ष विभिन्न प्रदेशमा गरिने बताए। उनले पहिलो फेस्टिबलमा भएका गल्ति सच्याउँदै अघि बढ्ने बताए।

फेस्टिबलको पहिलो दिन बुधबार नेपालका पहिलो मानवशास्त्री डोरबहादुर विष्टको जीवनीमा आधारित डकुमेन्ट्री म अलप हुन चाहान्छु प्रदर्शन गरिएको थियो। सचिन घिमिरे र गौरव केसीले निर्देशन गरेको डकुमेन्ट्रीले दर्शकको मन छोयो। शुभारम्भ कार्यक्रम ढिलो हुने भएपछि डोम जातिको सामाजिक संघर्षको बारेमा प्रेम राउत र सागरवीर कडरीले निर्देशन गरेको डोम समाज, अईना मेरेडोभा निर्देशित रसियन डकुड्रामा ब्ल्याङ्क पेज, सेनाद सामनोभिक निर्देशित मोन्टेनेग्रोका सर्ट फिक्सन फिल्म ट्याक्कुलिटी अफ ब्लड र अमित नर्वदे निर्देशित सर्ट फिक्सन कलंक प्रदर्शन गरिएको थियो। त्यसै गरी शुमारम्भपछि यौनकर्मी महिलाको सरकारी जागिरमा सफलताको कथा समेटिएको रामकृष्ण र तुल्सीराम अरन्दे निर्देशित सर्ट फिक्सन एक्ट्रा टाइम, सुभाष गजुरेल निर्देशित नेपालको माओवादी सशस्त्र क्रान्तिले निम्त्याएको दुखद् कथाबारेको सर्ट फिल्म हरेरामकी आमा र हेन्रिक पेस्कल निर्देशित जर्मन फिचर फिल्म सि ओ से पल प्रदर्शन भए।

फेस्टिबलको दोस्रो दिन बिहीबार नेपाली फिल्मअन्र्तगत भोजराज भाटको सुनाकली, राकेश महर्जनको कल्ली, दिनेश पाल्पालीको बालकृष्ण सम र रामबहादुर रसाइलीको अपांगताको पीडाका साथमा इजिप्टको आहा, जापानको पोन्पोको माउन्टेन, टर्कीको अक्सिजन, बंगलादेशको पौनोपुनिक, भारतको लेडी इन द लेक, फोर्लुङ तुदुङ, वियाने द बाउन्ड्री, जादुई मछली, श्रीलंकाको डाइङ ड्रिम्स प्रदर्शन गरियो। फेस्टिबलअन्र्तगत बिहीबार नै नेपाली सिनेमाको वर्तमान समस्या विषयक अन्र्तक्रिया सम्पन्न भयो। अन्र्तक्रियामा अभिनेता राजेश हमाल, लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा र निर्देशक दीपक श्रेष्ठले नेपाली फिल्मका विविध विषयमा चर्चा गरेका थिए।

फेस्टिबलमा विभिन्न देशका फिल्मकर्मीको सहभागिता रहेको छ। फेस्टिबल आयोजक डब्बु क्षेत्रीका अनुसार स्वदेशी तथा विदेशी फिल्मकर्मीले एक अर्काको फिल्म उद्योग र फिल्मबारे ज्ञान आदान–प्रदान गरिरहेका छन्। फेस्टिबलमा १६ देशका ४७ फिल्महरू प्रदर्शन हुने स्थानीय संयोजक दीपक श्रेष्ठले जानकारी गराए।