रातो नम्बरको पर्दाफास



नेपाल समाचारपत्र
काठमाडौं
रातो नम्बरबाट आएको फोन उठाए मरिन्छ भन्ने भ्रम फैलाउनेलाई केन्द्रीय अपराध अनुसन्धान ब्यूरो (सीआईबी) ले बुधबार पक्राउ गरेको छ। ‘रातो नम्बरबाट फोन आउने र उठाएपछि मर्न पनि सकिन्छ, बेहोस वा जे पनि हुन सक्छ।’ –केही सातायता यस्तै हल्ला चल्यो। धेरैले एक आपसमा वास्तविकता के हो भनेर आफन्त, साथीभाइ र नातेदारसँग पनि सोधखोज गरे।

हरेक दिन चर्चा दोहोरिन थालेपछि प्रहरीलेसमेत वास्तविकता पत्ता लगाउन अनुसन्धान शुरू गर्यो। जनमानसमा भ्रम फैलाएको प्रमाणसहित प्रहरीको केन्द्रीय अपराध अनुसन्धान ब्यूरो (सीआईबी) ले गायिका प्राश्ना पाण्डे र दीपक बराइलीलाई पक्राउसमेत गरेको छ। गल्ती स्वीकारेपछि सीआईबीले कागजात गराएर बुधबार उनीहरूलाई रिहा गरेको छ।

पाण्डेले आफ्नो मोबाइलमा रातो नम्बरबाट फोन आएको भन्दै फेसबुकमा स्क्रिन सट हालेपछि अनुसन्धानका क्रममा पहिले पाण्डे र पछि बराइलीलाई पक्राउ गरिएको सीआईबीका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिनुभयो।

प्रहरीको अनुसन्धानका क्रममा रातो नम्बरबाट आफूलाई कल आएको दाबी गरेकी पाण्डेले बराइलीको मोबाइलमा भेटिएको स्क्रिन पोस्ट गरेको स्विकारेकी थिइन्। पक्राउ परेका दीपकले आफूले मोबाइल चलाउँदा चलाउँदै एउटा अनौठो एप्स आएको र त्यसलाई फलो गर्दागर्दै रातो नम्बर जाने गरेको प्रहरीसमक्ष स्विकारेका थिए। यसबारेमा भ्रम फैलाउने अन्य व्यक्तिहरू बारेमा समेत अनुसन्धान भइरहेको सीआईबीले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्