तिवारीको हत्या विशुद्ध राजनीतिकः पहारी


यमलाल भुसाल, बुटवल
युवा संघ नेपालले संघका रुपन्देही अध्यक्ष दुर्गाप्रसाद तिवारीको हत्या राजनीतिक कारण नै भएको दाबी गरेको छ। युवा संघ नेपालले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरेर तिवारीलाई हत्या गर्नुपर्ने कुनै कारण नभएको बताउँदै उनको हत्या र राष्ट्रिय स्वाधीनताको आन्दोलन एक सिक्काका दुई पाटा भएको संघका केन्द्रीय अध्यक्ष राजीव पहारीले बताउनुभयो।

घटनालाई विषयान्तर गर्नका लागि राजनीतिभन्दा अन्य रूपबाट जोडेर समाचारहरू आएको भन्दै उहाँले सत्य तथ्यको गहिराईमा पुगेर मात्रै प्रकाशन तथा प्रशारण गर्न आग्रह गर्नुभयो।

तिवारीको हत्यापछि युवा संघले रुपन्देही प्रशासनसँग उच्चस्तरीय छानविन समिति बनाउन, मृतकलाई शहीद घोषणा गर्न र जिल्लाको शान्ति सुरक्षाको स्थिति अत्यन्तै कमजोर रहेको र शान्ति सुरक्षाको स्थिति सुधार गर्न, तथा अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने सहमति भएअनुसार माग पूरा नभए कडा आन्दोलन चर्काउने चेतावनीसमेत अध्यक्ष पहारीले दिनुभयो। युवा संघको आन्दोलन जारी रहेको बताउँदै अहिले वाच डकको भूमिकामा रहेको उहाँले बताउनुभयो।

सरकारले घटनाको छानविनका लागि उच्चस्तरीय आयोग गठन गरिसकेको अवस्थामा युवा संघ नेपालले पनि महासचिव किरण पौडेलेको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरी आन्तरिक अनुसन्धान अगाडि बढाएको उहाँले बताउनुभयो। पत्रकार सम्मेलनमा युवा संघका केन्द्रीय उपाध्यक्ष राजु गुरुङले मृतक तिवारी कुनै पनि ठेक्कापट्टामा नलागेको दाबी गर्दै हत्या विशुद्ध राजनीतिक भएको जिकिर गर्नुभयो।