५ जनाको हत्या गर्ने गिरोह पक्राउ


यमलाल भुसाल, बुटवल
लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। लामो समयको अनुसन्धानपछि सफलता मिलेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बुटवलले रूपन्देहीका विभिन्न स्थानमा २०६८ सालदेखि निरन्तर हत्या र चोरीगर्ने गिरोहलाई पक्राउ गरेको हो।

चाडपर्वहरूको समयमा बृद्ध अवस्थाका महिला, सुत्केरी महिला, एकल महिलाहरूलाई सुतेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या एवं चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। २०६८ सालदेखि यता चाडपर्वको समयमा महिला ४ र पुरुष १ गरी ५ जनाको हत्या गर्ने सर्लाही सुन्दरपुर चौराहा गाविस ८ पिराभिटाका चनरु हजारी (पासवान) लाई प्रहरीले पक्राउ गरेको हो।

उनीसँगै हजारीले चोरी गरेको सुनका गरगहना खरिद गर्ने सर्लाही बरथहवा नगरपालिका ५ बस्ने दीपक विश्वकर्मालाई पनि पक्राउ गरी इलाका प्रहरी कार्यालयले सार्वजनिक गरेको छ। घटनामा संलग्न हजारीसहित अन्य दुई जनाको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका एसपी रविन्द्र धानुकले बताउनुभयो।

हजारीले २०६८ कात्तिक १३ गते तिलोत्तमा नगरपालिका–५ का कुमारी बस्नेत, २०७१ असोज १३ गते रुद्रपुर ९ प्रतापपुर बस्ने चन्द्रबहादुर कुँवर, २०७२ कात्तिक २ गते देवहद नगरपलिका–८ की चन्द्रकला सापकोटा, २०७३ भदौ १५ गते रुद्रपुर गाविस–५ बस्ने रनमाया पुन र देवदह नगरपालिका–२ बस्ने नमकला पाण्डेको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको एसपी धानुकको भनाइ छ।

सर्लाहीबाट बुटवलमा आउने र कोठा भाडामा लिई गाउँ डुल्ने र कमजोर रहेका महिलाहरूलाई हत्या एवं चोरी गर्ने उनीहरूको काम भएको बताइएको छ। दिउँसोको समयमा चप्पलसमेत नलगाइ हिँड्ने उनीहरूले सुत्केरी, वृद्धवृद्धालाई निगरानी राख्ने र रातिको समयमा पुगी धारिलो हतियार प्रयोग गरी हत्या एवं चोरी गर्ने गरेको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मुकुन्द मरासनीले बताउनुभयो।

चाडपर्वको समयमा हुने हत्या र चोरीका घटना अबका वर्षहरूमा कम हुने आकंलन गरिएको डीएसपी मरासिनीको भनाइ छ। हजारी समूहले हत्यासँगै १५ स्थानबाट धनमाल एवं सुनका गरगहनासमेत चोरी गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार हजारी समूहले २०७१ असोज ८ गते रुद्रपुर ५ बनकसियास्थित शान्ति थापाको घरबाट धनमाल चोरी गरेको, सैनामैना नगरपालिका–१२ बासगढीस्थित यमकली छन्त्यालको घरबाट धनमाल चोरी गरेको, जडेडी–१ लेसाकी पम्फा क्षेत्रीको घरबाट धनमाल चोरी गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी मरासिनीले बताउनुभयो।

त्यसै गरी २०७२ भदौ ३१ गते जडेडी–३ मन्दिरडाडास्थित रूपा विक, २०७२ असोज ४ गते बुटवल १५ की चन्द्रमाया ठकुरी, असोज २१ गते रुद्रपुर चापाकी सुकमाया गुरुङ, असोज २४ गते रुद्रपुर ७ का कृष्ण श्रेष्ठ, असोज २५ गते रुद्रपुरक ९ हनुमाननगरकी सरस्वती सुना, २०७२ कत्तिक २ गते रुद्रपुर २ पिप्रि चपाकी नरमाया छन्यालको घरबाट धनमाल चोरी गरी बिक्री गरेको अनुसन्धानका क्रममा हजारीले स्वीकार गरेको प्रहरीको दाबी छ।

श्रृङ्खलाबद्ध चोरीका घटनाहरू गरेको हजारी समूहले २०७३ भदौ १९ गते गजेडी १ बेलबरियाकी सीता भुजेल, भदौं २२ गते सालझण्डी–६ उत्तरबिरौलीका लेखनाथ भुषाल, भदौं २४ गते देवदह–१० सित्तल नगरकी तिलकुमारी न्यौपाने, असोज १८ गते सैनामैना–१ बनकट्टाकी नदेवी सुनार,भदौं २१ गते बुटवल १५ बदेलपोखरीकी सुनखरी गुरुङ र असोज १४ गते देवदहन–३ सेमरानाकी दिपा थापाको घरबाट धनमाल चोरी गरेको बताइएको छ।

पक्राउ परेका हजारीको साथबाट कृष्ण श्रेष्ठको घरबाट चोरी भएको १ थान मोबाइल, सरस्वती सुनारको घरबाट चोरी भएको १ थान मोबाइल, रनमाया पुनको घरबाट चोरी भएको १ थान मोबाइल घटनाको समयमा प्रयोग गर्ने फलामे औजार एउटा र १ तोला १० लाल सुन बरामद भएको प्रहरीले जनाएको छ।