तीन शीर्ष नेता चुनाव चाँडो गर्न सहमत


काठमाडौं, (नेस)
सरकारले व्यवस्थापिका संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्तावसँगै विभाजित भएका प्रमुख राजनीतिक दलहरू सहमति निर्माणमा जुटेका छन्। संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरुद्ध गरेपछि सहमति खोज्न तीन दल छलफलमा जुटेका हुन्। सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न ल्याएको प्रस्ताव फिर्ता नहुने अडान लिएको छ भने एमालेले प्रस्ताव फिर्ता नलिएसम्म संसद चल्न नदिने अडान लिएको छ। तीन दलको बैठकमा पनि सत्ता पक्ष र प्रतिपक्षले आ–आफनो अडान दोहोर्याएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको तीन दलको बैठकमा पनि नेताहरूले आ–आफ्नो अडान दोहोर्याएका छन्। प्रधानमन्त्री प्रचण्डले संविधान संशोधन प्रस्ताव, स्थानीय तहको निर्वाचनको मिति घोषणा, अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावको बारेमा प्याकेजमै छलफल गरेर अगाडि बढ्नुपर्ने प्रस्ताव अगाडि सार्नुभएको छ। प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै प्रचण्डका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले भन्नुभयो, ‘संविधान संशोधन अहिलेको आवश्यकता हो, संविधान कार्यान्वयन गर्न पनि संविधान संशोधनको आवश्यकता छ, प्याकेजमै सहमति निर्माण गरेर अगाडि बढौं।

जवाफमा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिएपछि मात्र अन्य विषयमा छलफल गर्न सकिने अडान राख्नुभएको थियो। ओलीले संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा देश र जनताले माग नै नगरेको प्रस्ताव ल्याएर अलमल्याउने काम गरेकोसमेत बताउनुभएको थियो। प्रधानमन्त्री प्रचण्डले सरकार संविधान कार्यान्वयन गर्नका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको बताउँदै संविधान संशोधन प्रस्तावलाई पनि अगाडि बढाउनुको विकल्प सरकारसँग नरहेकोमा जोड दिनुभयो। खनालले भन्नुभयो, ‘तीन दलबीच सकारात्मक संवाद अगाडि बढेको छ, संविधान संशोधन प्रस्ताव, निर्वाचनको मिति र अख्तियार प्रमुख कार्की विरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव प्याकजमै टुंगो लगाउने तयारी प्रधानमन्त्रीले गर्नुभएको छ।

सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताहरूबीच भएको छलफलमा संसद्को कार्यसूचीमा महाअभियोग, विभिन्न विधेयक छलफलमा रहेकाले संविधान संशोधन विधेयक अहिले नै अघि नबढाउने र निर्वाचन ऐन, कानुन निर्माणमा केन्द्रित हुनेमा तीन नेताबीच सहमति जुटेको बताइएको छ। सरकारले जारी राजनीतिक गतिरोध हटाउनका लागि केही समयका लागि संविधान संशोधन प्रस्तावलाई कार्यसूचीबाट हटाउने तयारी गरेको छ। बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले बैठक सकारात्मक रहेको बताउनुभयो। उहाँले पुनः तीन दलबीच बैठक बसेर सहमति निर्माणको प्रयास हुने बताउनुभयो।

बैठकपछि एमाले अध्यक्ष ओलीले संविधान संशोधनलाई थाती राखेर भए निर्वाचनमा जाने या सँगसँगै दुवै प्रक्रिया लैजाने भन्नेबारे छलफल भएको बताउनभुयो। उहाँले निर्वाचनसम्बन्धी आवश्यक कानुन बनाएर निर्वाचन मिति घोषणा गर्ने बारे सकारात्मक छलफल भएको बताउँदै सकेसम्म चाँडै निर्वाचन गर्नुपर्छ भन्नेमा तीन दलबीच सहमति भएको बताउनुभयो।