यथास्थितिमा अस्वीकार्य


उता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावलाई यथास्थितिमा स्वीकार गर्न नसकिने आफ्नो पुरानै अडान दोहोर्याएको छ। बिहीबार सरकार मोर्चाबीच बालुवाटारमा छलफल भएको थियो। सरकारले दर्ता गरेको प्रस्तावले मोर्चाको मागलाई सम्बोधन नगरेकाले परिमार्जन नगरी संशोधन विधेयक स्वीकार्न नसकिने संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो।

बैठकमा सहभागी तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव तथा सद्भावना पार्टीका महासचिव मनीष सुमनले आफूहरूको माग पूरा नभएकाले यही स्थितिमा निर्वाचन प्रक्रियामा भाग नलिने बताउनुभयो। प्रधानमन्त्री पुष्पकमल दाहालले भने सरकारले दर्ता गरेको विधेयकलाई सहयोग गर्न आग्रह गर्नुभएको थियो। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘प्रधानमन्त्रीले आफूले संसद्मा दर्ता गरेको बुँदाउपर कुनै थपघट गर्न नसकिने अवस्था रहेकाले यसलाई स्वीकारी दिन र निर्वाचनको वातावरण बनाइदिन अनुरोध गर्नुभयो।’ उपेन्द्र यादवले आफ्ना सबै माग पूरा गर्न अडान राखे पनि अरू दल लचिलो भएर प्रस्तुत भएका थिए।