राष्ट्रपतिको प्रश्न खै त्रिविलाई रकम ?


ईश्वरराज ढकाल, काठमाडौं
राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले ध्वस्त त्रिभुवन विश्वविद्यालयको संरचना पुनर्निर्माण गर्न रकम उपलब्ध नगराएकोमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसमक्ष असन्तुष्टि व्यक्त गर्नुभएको छ। भूकम्पले ध्वस्त संरचनाको अवलोकन गर्दा त्रिविका उपकुलपतिलगायतका पदाधिकारीले भूकम्पले ती संरचना पुनर्निर्माणका लागि करिब १२ अर्ब रुपियाँ आवश्यक पर्ने राष्ट्रपतिलाई जानकारी गराएका थिए।

सोहीअनुसार राष्ट्रपति भण्डारीले त्रिवि पुनर्निर्माणका लागि आवश्यक रकम उपलब्ध गराइदिन पुनर्निर्माण प्राधिकरणलाई आग्रह गर्नुभएको थियो। ‘खै त्रिविलाई रकम?’ –त्रिविको अवस्थाबारे जानकारी लिने क्रममा उहाँले प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीसँग प्रश्न गर्नुभएको थियो।

‘जनताका छोराछोरीलाई गुणस्तरीय र सुलभ शिक्षा दिने भएकाले मैले यो विश्वविद्यालयको विषयमा चासो लिएर बुझ्न खोजेको हुँ’ –त्रिविको बारेमा करिब एक घण्टा कुराकानी हुँदा उहाँले सो विषय उठान गर्नुभएको थियो।

पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्ट्रपति भण्डारीले हिजो बिहीबार शिक्षामन्त्री धनीराम पौडेल, प्राधिकरणका कार्यकारी निर्देशक ज्ञवाली, राष्ट्रिय योजना आयोगका सदस्य डा. गीताभक्त जोशी, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र अर्थ सचिव शान्तराज सुवेदी, त्रिविका उपकुलपति प्राडा तीर्थ खनिया, रजिस्ट्रार डिल्ली उपे्रती, रेक्टर प्राडा सुधा त्रिपाठी र त्रिवि योजना महाशाखाका प्रमुख डा. ऋदीश पोखरेललाई शीतल निवासका बोलाएर त्रिविको विषयमा जानकारी लिनुभएको थियो।

जानकारी लिने क्रममा राष्ट्रपति भण्डारीले त्रिविको जग्गा अन्य विश्वविद्यालयलाई उपलब्ध गराएको विषयमा समेत असन्तुष्टि पोख्नुभएको बैठकमा सहभागी एक अधिकारीले नेपाल समाचारपत्रसँग भने। सरकारले नयाँ विश्वविद्यालय खोल्ने अनि त्रिविको जग्गा उपलब्ध गराउने, यस्तो काम गर्नु उचित देखिँदैन। त्रिवि र अन्य विश्वविद्यालयबीच भएको जग्गा विवाद सल्टाउन समेत राष्ट्रपति भणडारीले आग्रह गर्नुभएको थियो।

उहाले गुणस्तरीय शिक्षा दिने त्रिविले अझै प्रयास गर्नुपर्ने बताउनुभएको थियो। उहाँले त्रिविले कतिपय जग्गा निजी कलेजलाई उपलब्ध गराएको कुरा आफूले सुनेको बताउँदै यस्तो भएको हो भने त्रिविले ती जग्गा फिर्ता गर्न पहल आग्रह गर्नुभएको थियो।

राष्ट्रपतिसँगको भेटका विषयमा जानकारी गराउँदै रेक्टर प्राडा त्रिपाठीले भन्नुभयो– ‘राष्ट्रपति त्रिविको जग्गाको विषयमा एकदमै चिन्तित देखिनुभयो।’ भूकम्पलगत्तै ध्वस्त र क्षतिग्रस्त भएका त्रिवि मुख्यालयसहितको संरचना पुनर्निर्माण गर्न त्रिविले १० अर्ब रुपियाँ लाग्ने अनुमान गरेको थियो।

तर प्राधिकरणले हालसम्म एक रुपियाँ पनि दिएको छैन। ‘गत वर्ष १२ करोड रुपियाँ बजेट छुट्याइएको थियो, त्यो त पाएनौं यो वर्ष ६४ करोड रुपियाँ उपलब्ध गराउने उल्लेख भए पनि अहिलेसम्म अत्तोपत्तो छैन’ –पुनर्निर्माणको विषयमा जानकारी गराउँदै रेक्टर त्रिपाठीले भन्नुभयो।

राष्ट्रपतिसँग भएको भेटमा त्रिविका योजना महाशाखा प्रमुख डा. पोखरेलले १४ करोड रुपियाको लागतमा त्रिवि मुख्यालय, १० करोड रुपियाँमा रजिष्टार कार्यालय, पाटन संयुक्त क्याम्पसलाई २, शंकरदेव क्याम्पसलाई १ करोड र सरस्वती क्याम्पसलाई ५० लाख रुपियाँ पुनर्निर्माण काम शुरु गरिएको बताउनुभयो। उहाँले राष्ट्रपतिलाई त्रिविको योजनाबारे जानकारी गराउनुभएको थियो।

करिब सवा घण्टा भएको छलफलमा उपकुलपति प्राडा खनियाले त्रिविको सम्पत्ति, भूकम्पछिको पुनर्निर्माण र शैक्षिक गुणस्तरको बारेमा चासो व्यक्त गर्नुभएकामा आभार व्यक्त गर्नुभएको थियो।