वर्षकै न्यून विन्दुमा सुनको भाउ



नेपाल समाचारपत्र
काठमाडौं
यस वर्षको सबैभन्दा न्यून विन्दुमा सुनको मूल्य पुगेको छ। अमेरिकी डलर बलियो बन्दै गएकाले नेपालमा सुनको भाउमा लगातार भारी गिरावट आएको हो।

बिहीबार यो वर्षकै कम मूल्य प्रतितोला ५४ हजार रुपियाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो भाउ २०७३ सालको ८ महिने अवधिमा सबैभन्दा कम हो। महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५४ हजार रुपियाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ५४ हजार ६ सय रुपियाँमा कारोबार भइरहेको सुन ६ सय रुपियाँले घटेर ५४ हजार रुपियाँमा कारोबार भएको हो। त्यस्तै गत मंगलबार ५४ हजार ८ सय रुपियाँमा सुनको कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा लगातार यसरी नै उतारचडाव आइरहने हो भने बजारमा सुनको भाउमा अझै गिरावट आउन सक्ने विश्लेषकहरूले बताएका छन्। बजार विश्लेषकहरूले नेपाली बजारमा सुनको भाउ प्रतितोला ५२ हजारसम्म झर्न सक्ने बताएका छन्। पछिल्लो समय रुपियाँको तुलनामा डलर मजबुत बन्दै गइरहेको छ। गत शुक्रबार एक अमेरिकी डलरको खरिददर १०९ दशमलव ६८ रुपियाँ र बिक्री दर १ सय १० दशमलव २८ रुपियाँ तोकिएको छ। बीचको समयमा डलरको भाउ केही घटेको छ। बिहीबार अमेरिकी डलरको खरिद दर १ सय ९ दशमलव २६ रुपियाँ र बिक्री दर १ सय ९ दशमलव ८६ रुपियाँ तोकिएको छ। यसरी डलरको भाउमा देखिएको लगातारको उतारचडावका कारण नेपालमा सुनको भाउ अझै ओरालो लागेको हो।

डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हासिल गरेपछि दिन प्रतिदिन डलर तीव्र गतिमा महंँगो भइरहेको छ। डलरको बलियो हुनु र त्योसँग नेपाली रुपियाँ अवमूल्यन भएकाले आगामी दिनमा सुन अझै घट्न सक्ने संकेत देखिएको छ। लगानीका धेरै क्षेत्रमध्ये सुनलाई सुरक्षित मानिन्छ। सुनमा लगानी गरेर लगानीकर्ता ढुक्क हुने गर्दथे। तर, सुनको भाउमा देखिएको तीव्र गिरावटका कारण सुनमा लगानी जोखिम बन्दै गइरहेको छ। डिसेम्बरको अन्त्यसम्ममा सुनको मूल्य निकै तल झर्न सक्ने आँकलन गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्