गीति गजलमा सत्प्रयास

0
Shares

इजरायलबासी गजलकार भगवती बस्नेतको गीति गजल अडियो एल्बम सत्प्रयास शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबीच सार्वजनिक गरिएको छ। गीतकार डा. कृष्णहरि बराल, संगीतज्ञ धनबहादुर गोपाली तथा विन्ध्यावासिनी म्युजिकका कम्पनीका प्रबन्ध निर्देशक सुवास रेग्मीले एल्बमको संयुक्तरूपमा विमोचन गरेका हुन्।

समारोहमा प्रमोद खरेलद्वारा स्वरबद्ध सोही एल्बमकै अपुरै भो बोलको गीतको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको छ। बस्नेतको यसअघि ३ तजि गीत एल्बम सार्वजनिक भइसकेका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गीतकार डा. बरालले हिजोआज एल्बम विमोचन गर्दा कस्को बढी लगानी छ उस्लाई नै अगाडि राखेर कुरा गर्ने गरिएको टिप्पणी गर्दै स्वर दिने र शब्द लेख्नेका लागि पनि एल्बम उत्तिकै महत्त्वपूर्ण रहेका चर्चा गरे। ‘भगवतीले विदेशमा भएर पनि लेखनमा निरन्तरता दिएकी छन्। वास्तवमा गजलको संगीत गर्नु र गीतको संगीत गर्नुमा धेरै फरक छ।

गजलको संगीत गर्न शास्त्रीय संगीतको ज्ञान हुन जरुरी छ। यो संग्रहमा केशव पौडेलले नियममा बाँधिएर निकै राम्रो संगीत दिएका छन् डा. बरालको भनाइ थियो। त्यस्तै कार्यक्रमका सभापति तथा विन्ध्यावासिनी म्युजिकका प्रबन्ध निर्देशक रेग्मीले सस्तो लोकप्रियताको पाउन लागिपरेकाहरु केही समयपछि समाप्त हुने र सही सर्जकको मान रहने बताए। ‘यहाँ गायन समाजको अध्यक्ष वर्षमा एउटा गीत गाउने मान्छे र संगीतकार समाजको अध्यक्ष वर्षमा एउटा गीतमा संगीत गर्ने हुने गर्छन्’, सञ्चारकर्मी र म्युजिक भिडियो निर्देशकसमेत रहेका रेग्मीले भने– ‘सस्तो लोकप्रियताका लागि सस्तामस्ता र हलुका व्यक्तिहरूको संगीत क्षेत्रमा पहुँच भइरहेको छ। यही कारणले नेपाली गीत–संगीतको अवस्था धराशयी भएको हो।

जसका कारण आज क्यासेट पसलहरु साडी पसलमा रूपान्तरित भएका छन्। त्यसै गरी विशेष अतिथि एवं संगीतज्ञ धनबहादुर गोपालीले एल्बमको शब्द संगीत मन छुने रहेको बताए। एल्बमका संगीतकार केशव पौडेलले इजरायलमा विमोचित भइसके पनि नेपालमा यसको छुट्टै विमोचन गरिएको बताए।

एल्बममा अन्जु पन्त, प्रमोद खरेल, निशा देसार, मनोजराज र निरा रानाभाटको स्वर रहेको छ भने केशव पौडेलको एकल संगीत तथा आमोश तामाङ, भूपेन्द्र रायमाझी, सञ्जय हमाल तथा जुगल डंगोलको एरेन्ज रहेको छ।