काठमाडौं ।
हिँड्न गाह्रो हुनु, शरीर कडा हुनु वा हात काँप्नेजस्ता लक्षणलाई धेरैले सामान्य बुढ्यौलीको समस्या ठान्ने गरेका छन् । तर, चिकित्सकहरूले यस्ता लक्षणहरूलाई बेवास्ता नगर्न चेतावनी दिएका छन् । उनीहरूका अनुसार यी संकेतहरू गम्भीर स्नायु रोग पार्किन्सनका प्रारम्भिक लक्षण हुनसक्छन् ।
विश्व पार्किन्सन दिवसको अवसरमा सिनियर केयर सेन्टरले काठमाडौंमा आयोजित जनचेतनामूलक कार्यक्रममा विशेषज्ञहरूले समयमै पहिचान र उपचार नहुँदा रोग जटिल बन्दै जाने बताएका छन् ।
स्नायु रोग विशेषज्ञहरूका अनुसार पार्किन्सन एक प्रगतिशील न्युरोलोजिकल रोग हो, जसले शरीरको चालढाल नियन्त्रण गर्ने क्षमतामा असर पार्छ । मस्तिष्कको सब्स्टेन्सिया निग्रा भागमा डोपामाइन नामक रसायनको कमी हुँदा यो रोग हुने नसारोग विशेषज्ञ डा. राजु पौडेल बताउनुहुन्छ ।
उहाँका अनुसार रोगका मुख्य लक्षणहरूमा हात काँप्नु, शरीर कडा हुनु, चाल सुस्त हुनु, सन्तुलन बिग्रिनु पर्छन् । यी लक्षणलाई सामान्य ठानेर उपचार नगर्दा रोग क्रमशः जटिल बन्दै जाने गर्दछ । सबै कम्पन पार्किन्सन हुँदैनन् । नेपालमा ५ हजारभन्दा बढी यस्ता बिरामी रहेको र वर्षेनी ५ सयको यही रोगका कारण मृत्यु हुने गरेको अनुमान गरिन्छ । विशेष गरी ६० वर्षदेखि ८० वर्षका धेरै बिरामी रहेका भए पनि ४० वर्ष मुनिका पनि ५ प्रतिशतको हाराहारीमा पार्किन्सनका बिरामी रहेको उहाँले बताउनुभयो । हरेक १ सय जनामा १ जना पार्किन्सनका बिरामी हुनसक्ने अनुमान गरिएको छ । यो रोगको सुरुकै चरणमा उपचार भयो भने उपचारपछि सामान्य व्यक्तिसरह हुने पनि उहाँले बताउनुभयो ।
विशेषज्ञ चिकित्सक डा. रेसा श्रेष्ठका अनुसार प्रारम्भिक चरणमा औषधिबाट राम्रो नियन्त्रण गर्न सकिन्छ । तर, औषधिले काम नगर्ने अवस्थामा पुगेपछि शल्यक्रिया आवश्यक पर्न सक्छ ।
चिकित्सकहरूका अनुसार पार्किन्सन पूर्ण रूपमा निको नहुने रोग भए पनि समयमै उपचार, व्यायाम र जीवनशैली परिवर्तनबाट नियन्त्रण गर्न सकिन्छ । फिजियोथेरापी, स्पिच थेरापी र पुनःस्थापनात्मक उपचारले बिरामीको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विशेषज्ञहरू बताउँछन् ।
विश्व स्वास्थ्य संगठनका तथ्याङ्कअनुसार विश्वभर पार्किन्सन रोग तीव्र रूपमा बढिरहेको छ । पछिल्ला २५ वर्षमा यसको संख्या दोब्बर भएको छ र लाखौँ मानिस प्रभावित छन् । नेपालमा पनि यो रोग बढ्दो क्रममा रहेको छ । विभिन्न अध्ययनअनुसार नेपालमा प्रत्येक वर्ष १५ सयदेखि १० हजारसम्म नयाँ बिरामी थपिने अनुमान गरिएको छ । त्यस्तै, पार्किन्सनका कारण नेपालमा कुल मृत्युको करिब ०.४७ प्रतिशत हिस्सा ओगट्ने गरेको तथ्याङ्क छ । विशेषज्ञहरूका अनुसार बढ्दो आयु, वातावरणीय प्रदूषण, रसायनको प्रयोग र जीवनशैली परिवर्तनका कारण पनि रोगको जोखिम बढ्दै गएको छ ।
कार्यक्रममा सहभागी बिरामीहरूले पनि उपचार पद्धति र नयाँ प्रविधिबारे जानकारी पाउँदा उत्साह व्यक्त गरेका थिए । उनीहरूले रोगबारे सचेतना बढाउनुपर्ने आवश्यकता औँल्याए । विशेषज्ञहरूका अनुसार नियमित व्यायाम, सन्तुलित खानपान, योग तथा ध्यान, समयमै औषधिले रोग नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्छ । विश्व पार्किन्सन दिवस प्रत्येक वर्ष अप्रिल ११ मा मनाइन्छ, जसले रोगबारे जनचेतना फैलाउने र प्रारम्भिक पहिचानमा जोड दिने लक्ष्य राखेको छ ।











प्रतिक्रिया