‘अमिन राष्ट्रिय म्युजिक अवार्ड २०८२’ सम्पन्न


काठमाडौँ
नेपाल संगीत उद्योग संघद्वारा आयोजित “अथक शान्त साधक विश्वनाथ केडिया ‘अमिन’ राष्ट्रिय म्युजिक अवार्ड २०८२” भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने विशिष्ट अतिथिमा उद्योगी तथा व्यवसायी सुमित केडियालगायत विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो । समारोहमा वरिष्ठ गायिका ज्ञानु राणा र गायक अमर तण्डुकारलाई राष्ट्रिय दीर्घ साधना सम्मान, कलाकार शिव श्रेष्ठलाई राष्ट्रिय कलाकारिता सम्मान तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई युवा व्यवसायी, व्यवसायी र समाजसेवी सम्मान प्रदान गरिएको कार्यक्रम संयोजक जानकी थापा मगरले जानकारी दिइन् ।

कार्यक्रममा गायक दीपक लिम्बु, विनोद ढकाल, राधाकृष्ण सापकोटालगायतका कलाकारको उल्लेखनीय सहभागिता रहेको थियो । नेपाल संगीत उद्योग संघका अध्यक्ष डा. सूर्यबहादुर मगरले अवार्डको पाँचौं संस्करणसम्म आइपुग्दा सबैको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै विजेतालाई बधाई दिनुभएको थियो ।

अवार्ड समारोहमा नेवारी, मगर, लिम्बु, पप, लोकदोहोरी तथा आधुनिक गीतसहित विभिन्न विधामा उत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो । साथै पब्लिक च्वाइस अवार्ड नारायण खतिवडाले जितेका थिए भने अन्य विधामा पनि विभिन्न कलाकारले सम्मान हासिल गरेका थिए ।