एनभीए लिग विजेतालाई १० लाख पुरस्कार


काठमाडौं ।

नेपाल भलिबल संघको आयोजनामा आगामी वैशाख १० गतेदेखि १९ गतेसम्म दसौं एनभीए प्रधानमन्त्री महिला तथा पुरुष भलिबल लिग हुने भएको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा यसै चैतमा सञ्चालन हुने भनिएपनि प्रतियोगिता विविध प्राविधिक कारणले वैशाखको दोस्रो साताका लागि सारिएको हो ।

प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी कुल १४ उत्कृष्ट टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपाली भलिबल इतिहासमै विशेष महत्त्व बोकेको यस संस्करणलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन संघले पुरस्कार राशिमा ठूलो वृद्धि गरेको छ ।

यस पटकको प्रतियोगिता पुरस्कार राशिका हिसाबले अहिलेसम्मकै भव्य र ऐतिहासिक सावित हुने देखिएको छ । जसअनुसार महिला र पुरुष दुवै विधाका विजेता टोलीले जनही १० लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछन् । उपविजेताले ५ लाख र तेस्रो स्थान हासिल गर्ने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । टोलीगत पुरस्कारका अतिरिक्त व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ६० हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट सर्भर, ब्लकर, स्पाइकर, सेटर, लिबेरो र प्रशिक्षकले जनही ३० हजार रुपैयाँ पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । प्रतियोगिताको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्ड र थप रोमान्चक बनाउन प्रत्येक टोलीले बढीमा ३ जनासम्म विदेशी खेलाडी समावेश गर्न पाउने विशेष प्रावधान राखिएको छ ।