ओलि र लेखकलाई आज अदालत उपस्थित गराइँदै


काठमाडौ ।

जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।

प्रहरीले दुवै जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा पेश गर्ने तयारी गरेको छ। कानून अनुसार २४ दिनसम्म हिरासतमा राख्न अनुमति आवश्यक पर्ने भएकाले अदालतको निर्णय कुर्नुपर्नेछ।

शनिबार भक्तपुरबाट पक्राउ परेका ओली हाल अस्पतालमा उपचाररत छन् भने लेखकलाई महाराजगन्जस्थित प्रहरी हिरासतमा राखिएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा तीन प्रहरीसहित ७६ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए।

घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले यी पक्राउ गरेको जनाएको छ।