स्वच्छ राजनीतिको अपेक्षा

846
Shares

विगत धेरै वर्षदेखिको राजनीतिक फोहोरले गर्दा राजनीति यति धेरै फोहोर, विकृत र अपाङ्ग भएको छ कि बयान गरेर साध्य छैन । राजनीतिको र पनि नजान्ने मान्छे जो अरु सबैतिरबाट असफल भएर कवाडीमा परिणत हुन पुग्छ, त्यसपछि ऊ राजनीतिको बलियो छहारीमा ओत लागेर दुई नम्बरी धन्दा गर्दै कमाउन थाल्छ अनि विगतमा बिग्रेको छविलाई बिस्तारै चम्काउन थाल्छ । धनको आडमा छवि चम्काउने काम गरेपछिका दिनमा ऊ बलियो र भरिसक्य राजनेताको उपाधिले विभूषित हुन्छ ।

उसले पनि कोठामा कार्ल माक्र्स, एन्गेल्स, विश्वेश्वर कोइरालाहरुमध्येका कसैको फोटो भित्तामा टाँगेर सोही हतियारको आडमा दुनियाँ ठग्न थाल्छ । राजनीतिको बलियो आधार पाएपछि उसलाई निरङ्कुश बन्न कुनै साइत पर्खनुपर्दैन । त्यति बेला उसको राजनीतिक लक्ष्य पूरा भएको ठानेको हुन्छ ।

ऊभित्रको मले यति धेरै अहङ्कार बोकेको हुन्छ कि बयान गरेर साध्य लाग्दैन । २०८२ फागुन २१ को चुनावअगाडिका दिनसम्म कम्युनिस्ट पार्टीका एकजना नेता भन्दै थिए– ‘हाम्रो राजनीतिक दलले गरेको निर्णयलाई कसले छानबिन गर्ने आँट गर्न सक्छ ? हामीले जे निर्णय गर्छौं, सोहीअनुसार हुन्छ ।’ यसरी राणा प्रधानमन्त्री जंगबहादुरको शैलीमा बोलेको सुनिदै थियो तर चुनावपछाडिका दिनमा पराजित भएर भिजेको मुसोजस्ता देखिने ती नेताको हालत हेर्नलायकको भएको छ ।

विगतका सयौँ वर्षदेखि निरन्तररुपमा स्थापित भएर चल्दै आएको राजसंस्थाको समूल अन्त्य भएपछिका दिनमा सबैजसो र तिनमा पनि ठूला मानिएका राजनीतिक दलका शीर्ष नेताभन्दा माथि त भगवान् पनि छैन होला भन्नेजस्तो सोचाइ आम जनताको मानसमा पर्न थालेको थियो । उनीहरु देश र जनतालाई माया गर्ने त एक थोपो पनि होइन, बरु कसरी दुहेर खान पाइन्छ ? भन्ने कमाउ मानसिकताको सिकार भएका हुनाले राजनीतिक दलभित्र जति मात्रामा फोहोरको थुप्रो लागोस्, त्यसलाई सफा गरेर आफ्नो राजनीतिक दललाई फोहोरमुक्त बनाउने प्रयासमा कति पनि लाग्न सकेनन् ।

हरेक नेताका कोठामा कार्ल माक्र्सले लेखेका, विश्वेश्वरप्रसाद कोइरालाले लेखेका किताब सजाएर राखेका देखिन्थे तर तिनलाई अध्ययन गरेर तिनबाट केही पाठ सिक्ने कुरा भनेका परका कुरा थिए । उनीहरूको रातदिनको मानसिक सोचाइ भनेको पैसा कसरी कमाउने र सोही पैसाको आडमा आफूमा भएको प्रभुत्व कसरी कायम राख्ने ? भन्ने नै थियो । यिनै सिलसिला पूरा गर्नको लागि उनीहरूले विगतमा खोलिएका छालाजुत्ता कारखाना, भृकुटी कागज कारखानाजस्ता उद्योगहरू कौडीका भाउमा बेची कालो धन खाएर मोटाउन थालेका हुन् ।

कोही पनि विदेशीले पैसा दिने सर्तमा देशलाई घात गर्ने जस्तासुकै कर्म गर्न भए पनि यिनीहरू उद्यत भएका हुन्थे । नेपालको राजनीतिक वृक्षको छहारीमा सामेल भएका कसैले पनि त्यो राजनीतिको फोहोरलाई हटाउने आँट र सफल प्रयास गर्नै सकेन र गर्न सक्ने अवस्था पनि थिएन । यदि कसैले त्यो कुरो उठायो भने उसलाई सिध्याउन पनि बेर लाग्दैनथ्यो । जनप्रिय नेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको अवसान पनि सोही कारणले गर्दा रहस्यमय तरिकाले भएको थियो भन्ने कुरा आम नेपाली जनताले भर्खर बुझ्दै छन् ।

राजनीतिभित्रको फोहोर सफा गरेको खण्डमा विगतमा आफूले गरेका काला कर्तुत देखा पर्ने मात्र होइन कि छताछुल्ल नै होलान् कि भन्ने भयका कारण कुनै पनि पुराना राजनीतिक दलका कुनै पनि नेताले राजनीतिलाई स्वच्छ बनाउने प्रयासमा लागेको कहिल्यै पाइएन । त्यही राजनीतिक फोहोर यति धेरै भयो कि अब त्यसलाई चाँडो सफा नगरेको खण्डमा हामी नेपालीलाई मात्र होइन कि छिमेकीलाई समेत खराब असर गर्नेवाला थियो ।

यसै परिवेशलाई उल्टाउनको लागि र राजनीतिलाई जति सक्दो स्वच्छ बनाउनको लागि त्यति धेरैले बलिदानी दिएरै भए पनि जेन्जी पुस्ताले आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुन पुग्यो । यसै आन्दोलनको आड र सबैको अनुरोधको आधारमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएर तोकिएको मितिमै शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न भयो । यस चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झन्डै दुई तिहाइ बहुमतले वजय हासिल गरी शायद नेपालको इतिहासमै सबैभन्दा शक्तिशाली सरकार युवानेता बालेन्द्र साहको नेतृत्वमा बनेको छ ।

रास्वपाको निर्वाचित सरकारको कार्यशैली आम जनताले थाहा पाउने गरी वा पारदर्शी हुन जरुरी छ । जहाँ गरिने जुनसुकै काम होस्, सबैले देखेर वा पारदर्शी बनाएर गरिन्छ भने त्यो स्वच्छ हुन्छ र त्यसले सबैलाई फाइदै गर्छ । तर लुकाएर वा आम जनताले थाहा पाउलान् कि भनेर पापी सोचाइबाट गरिन्छ भने त्यही बेलादेखि रास्वपाभित्र पनि क्रमशः राजनीतिक फोहोर थुप्रिन शुरु हुन्छ । उक्त राजनीतिक दलका शीर्ष नेताका दैनिक क्रियाकलापका आधारमा, देश र जनताप्रतिको उनीहरुको सोचाइका आधारमा फोहोर थुप्रिने कि स्वच्छ हुँदै जाने भन्ने कुराको निर्धारण हुने गर्दछ ।

उनीहरूले गरेका पापकर्मलाई गुपचुप नै राख्न खोजे भने फोहोर थुप्रिन थालेको कुरा सङ्केत गर्दछ । फोहोर भनेको अँध्यारो पक्ष हो । पापकर्म गर्ने मान्छेले जहिले पनि अँध्यारो रात पर्खेर सोही रातको समयमा गर्ने गर्दछ । कुनै पनि राजनीतिक दल भन्नुको अर्थ धेरैजना सदस्यहरू रहेको एउटा परिवार हो । परिवारका ज्येष्ठ सदस्यले अराएको सही काम, दिएको निर्देशन सबैले पालना गर्नुपर्ने भए पनि आफ्नै अहङ्कार र व्यक्तिगत स्वार्थमा रमाउने सदस्यले निर्देश र सल्लाह दुवै नमान्न वा उल्लङ्घन गर्न पनि सक्छ । यस्तो अवस्थामा उक्त सदस्यलाई सख्त कार्यवाही गर्ने हो भने त्यसपछिका दिनमा अरु कुनै पनि सदस्यले त्यस्तो हर्कत गर्ने प्रयास गर्नेछैन ।

विगतको त्यो समय, जुन समयमा तत्कालीन नेकपा माओवादीका नेता (अध्यक्ष) पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा बनेको सरकारले आफ्नो राजनीतिक क्रियाकलापलाई पारदर्शीरुपमा भित्रै मनदेखि स्वच्छ प्रयास गरेको हुन्थ्यो भने त्यो सरकार अवश्य सफल हुन्थ्यो । त्यति मात्रै होइन कि केही महिनाअगाडि भएको जेन्जी आन्दोलनको कुनै चिनारी हुने थिएन । शायद हालसम्म पनि उहाँकै नेतृत्वमा बनेको सरकार कायम भई देश कायापलट हुने अवस्था आउने थियो । तर तत्कालीन माओवादी पनि विदेशी इशारामा चल्दा उसका काम अँध्यारैमा गर्नुपर्ने खालका भए । जसले गर्दा त्यो सरकार दिगो हुन सकेन ।

आज बनेको बालेन्द्र साह नेतृत्वको सरकारसँग करोड जनताको विश्वास रहेको छ । यो सरकारले आम जनताको भावना र चाहनाअनुसारको शासन गर्न सक्षम हुनेमा हामी आश्वस्त छौँ । साथै आम नेपालीलाई सुख–शान्तिसँग बाँच्न अनि आफूले सकेका सुकर्म गरेर खान सक्ने वातावरण सिर्जना गर्नेछ भन्ने आशा छ । विदेशीको मुख नताकेर आफ्नै देशमा भएका साधन–स्रोतको अधिकतम उपयोग गर्दै देशलाई उन्नतिको शिखरतिर लैजानेछ भन्ने विश्वास रहेको छ ।

यदि सरकारले भित्री मनदेखि चाहेर गरेको खण्डमा नेपाली जनताको सोचाइअनुसारको उन्नति भएर जान सक्ने अवस्था बनाउन सक्छ । यावत विषयमा सक्षम हुनका लागि शासनको नेतृत्व लिने राजनीतिक दलभित्रका आम सदस्यहरुको मानस स्वच्छ र निर्मल हुन जरुरी छ ।

तर यहाँ चुनावमा लागेको खर्च मन्त्री भएर उठाउनुपरेको छ, या त सांसद बनेर अनियमित कामबाट कमाएको पैसाले उठाउनुपरेको छ । काठमाडौँको मुटु भागमा रहेको जमिन नकिनेर भएकै छैन । फलानाको जतिको दरबार बनाएर फलानाको सेखी झार्नु छ । हो, यस्ता र यही प्रकारका सोचाइ बोकी रास्वपाबाट निर्वाचित भएर आएका अनुहारहरु होलान् भन्न सकिन्न । तिनले पार्टी सभापति वा प्रधानमन्त्रीको आदेश वा सल्लाहलाई अक्षरशः पालना गर्लान् त ? यसमा नेतृत्व तहले ध्यान पु¥याउनै पर्छ । अबका दिनमा यस्तो मानसिकतालाई निरुत्साहित गरेर निर्लोभी बनाउँदै देशको उन्नतिमा समर्पित हुन सक्ने मानसिकता कसरी विकास गराउन सकिन्छ भन्ने कुरामा राजनीतिक दल सचेत हुन जरुरी छ ।

अर्को महत्वपूर्ण विषय के छ भने, विगतका राजनीतिक खेलाडीका रुपमा कहलिएका, पुराना भनिएका राजनीतिक दलका नेता, जो चुनावमा पराजित भई निन्याउरो भएका छन्, उनीहरुले पनि बालेन नेतृत्वको सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्दै गरेको कुरा नेपथ्यमा बसेका जनताले नियालिरहेको परिवेश छ । उनीहरूसँग सहकार्य गर्नु, भरसक सबैलाई समेटेर राजनीतिको मूल प्रवाहमा ल्याउन सक्नु राजनीतिका वर्तमान चतुर खेलाडीको कर्तव्य हुन्छ ।

तर चुनावमा पराजित भएको असह्य पीडालाई भोग्दै गरेका पुराना नेताले कत्रो महान् लक्ष्य बोकेर सत्तारोहण गरेको राजनीतिक दललाई विगतको जसरी नै रसातलतिर धकेल्ने काम हुन थाल्यो भने आम नेपाली जनताको विश्वास कहाँनेर गएर अडिएला ? यो विषय विचरणीय छ ।

सरकार यतिसम्म चतुर तथा दूरदृष्टिको हुनुपर्छ कि कम्तीमा अबको पाँच वर्षपछि यो अवस्था आउनेछ र त्यसको सामना गर्न यो तरिकाले पाइला चाल्नुपर्छ भन्ने कुरामा सचेत रहन जरुरी छ । यसो भन्दै गर्दा पुराना र पराजित मानसिकताका राजनीतिक दलसँग शत्रुताको व्यवहार किमार्थ गर्नुहुँदैन । सरकारले सारा काम निःस्वार्थ, पारदर्शी र सकारात्मक सोचका साथ गर्दै छ भन्ने विश्वास आम जनातमा दिन सक्नुपर्छ । यसै तरिका र कर्मलाई राजनीतिक स्वच्छता भनिन्छ । राजनीतिक स्वच्छताबेगरको शासन ढिलो–चाँडो पतनतिरको बाटोमा लाग्ने भएकाले वर्तमान सरकार स्वच्छ र पारदर्शी हुन जरुरी छ ।