फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको संयुक्त सैन्य आक्रमणपछि मध्यपूर्वमा फैलिएको युद्धको ज्वालाले खेलकुदलाई नराम्ररी प्रभावित गरेको छ । क्षेत्रीय अस्थिरता, सुरक्षाको गम्भीर चिन्ता र हवाई क्षेत्रको पूर्ण वा आंशिक निषेधका कारण दर्जनौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगिताहरू स्थगित, रद्द वा अनिश्चित बन्न पुगेका छन् ।
खेलकुदका विभिन्न विधाका हस्तीहरू युद्धग्रस्त क्षेत्रमा फस्नु र प्रतिष्ठित आयोजनाहरू अन्योलमा पर्नुले खेलकुद जगतमा गहिरो संकट निम्त्याएको छ । विशेषगरी फुटबलको क्षेत्रमा यसको प्रभाव निकै ठूलो देखिएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले आफ्नो वार्षिक क्यालेन्डर अन्तर्गतका ‘वेस्ट रिजन’ (पश्चिम क्षेत्र) का सम्पूर्ण खेलहरू तत्कालका लागि स्थगित गरेको छ ।
यसमा एएफसी च्याम्पियन्स लिग एलाइट, एएफसी च्याम्पियन्स लिग टु र एएफसी च्यालेन्ज लिग जस्ता प्रतिष्ठित प्रतियोगिताहरू समावेश छन् । साउदी अरब, कतार, यूएई, इरान र कुवेतका क्लबहरू सहभागी हुने यी खेलहरू रोकिँदा क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासर जस्ता हाइ–प्रोफाइल टोलीहरू पनि प्रत्यक्ष प्रभावित भएका छन् ।
इरानको घरेलु लिग ‘पर्सियन गल्फ प्रो लिग’ अनिश्चितकालका लागि निलम्बित गरिएको छ भने विदेशी खेलाडीहरू ज्यान जोगाउन धमाधम देश छोडिरहेका छन् । दक्षिण कोरियाली डिफेन्डर ली की–जे तेहरानस्थित आफ्नै दूतावासमा शरण लिएर मुस्किलले स्वदेश फर्कन सफल हुनुले त्यहाँको भयावह स्थितिलाई प्रष्ट पार्छ।
युद्धको प्रभाव केवल क्लब फुटबलमा मात्र सीमित छैन । स्पेन र अर्जेन्टिनाबीच मार्च २७ मा कतारमा हुने तय भएको बहुप्रतिक्षित ‘फाइनलिसिमा’ (यूइएफए यूरो र कोपा अमेरिका विजेताबीचको भिडन्त) अहिले गम्भीर अन्योलको भुमरीमा फसेको छ ।
कतार फुटबल एसोसिएसनले आफ्ना सबै घरेलु खेलहरू रोकेको अवस्थामा यो ऐतिहासिक खेल हुने सम्भावना क्षीण हुँदै गएको छ । त्यसैगरी, टेनिसतर्फ संयुक्त अरब इमिरेट्समा आयोजना हुने फुजैराह ओपन प्रतियोगिता नजिकै ड्रोनको भग्नावशेष खसेर आगलागी भएपछि रद्द गरिएको छ ।
रुसी टेनिसस्टार डेनिल मेदभेदेभ दुबईमा फसेका कारण अमेरिकाको प्रतिष्ठित इन्डियन वेल्स अन्तर्गतको आइजनहावर कप गुमाउन बाध्य भएका छन् । मोटरस्पोट्र्स र अन्य साहसिक खेलहरू पनि यस संकटबाट अछुतो रहन सकेका छैनन् ।
एफआईए (एआइए) ले लुसाइलमा हुने वल्र्ड एन्ड्युरेन्स च्याम्पियनसिप स्थगित गरेको छ भने मोटोजीपीका सीईओ कार्मेलो एज्पेलेटाले कतार ग्रान्ड प्रिक्सको भविष्य अनिश्चित रहेको संकेत दिएका छन् । फर्मुला वानले साउदी अरब र बहराइन ग्रान्ड प्रिक्सका लागि वैकल्पिक योजना बनाइरहेको छ भने टायर निर्माता पिरेलीले सुरक्षाकै कारण आफ्नो महत्वपूर्ण परीक्षण कार्यक्रम रद्द गरिसकेको छ ।
खेलाडीहरूको व्यक्तिगत सुरक्षा र यात्रामा परेको व्यवधानले गर्दा भारतीय ब्याडमिन्टन स्टार पिभी सिन्धु र गल्फर अनिर्बान लाहिरी जस्ता खेलाडीहरू पनि युद्धको मारमा परेका छन् । हवाई मार्ग बन्द हुँदा सिन्धुले प्रतिष्ठित अल इङ्ल्यान्ड च्याम्पियनसिपबाट नाम फिर्ता लिनुप¥यो ।
अमेरिकी विदेश मन्त्रालयको कडा ट्राभल एड्भाइजरीपछि अमेरिकी पुरुष हक्की टोलीले इजिप्टमा भइरहेको विश्वकप छनोट प्रतियोगिताबाटै हात झिकेको छ । यसरी, मध्यपूर्वको युद्धले केवल सिमानाहरू मात्र होइन, विश्वभरका खेलप्रेमीहरूको उत्साह र खेलाडीहरूको परिश्रमलाई समेत अनिश्चितताको बन्धक बनाएको छ ।
खेलकुद नियामक निकायहरू अहिले खेल तालिका मिलाउन भन्दा पनि खेलाडी र पदाधिकारीहरूको सुरक्षित उद्धार र सुरक्षा सुनिश्चित गर्न बढी केन्द्रित देखिन्छन् ।











प्रतिक्रिया