काठमाडौं।
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उद्योग, पर्यटन, ऊर्जा, निर्माण र सेवा क्षेत्रसँग जोडिएका व्यवसायी पृष्ठभूमिका उम्मेदवारहरू उल्लेख्य रूपमा संसद् प्रवेश गरेका छन् । विभिन्न दलबाट चुनाव लडेका यस्ता व्यवसायीहरूले देशका विभिन्न निर्वाचन क्षेत्रमा जित निकाल्दै निजी क्षेत्रबाट राजनीतिमा सहभागिता बढेको संकेत दिएका छन्।
यसपटक विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीलगायत दलबाट प्रतिस्पर्धा गरेका उद्योगी तथा व्यवसायीहरूले सफलता हासिल गरेका हुन् ।
पर्यटन तथा पूर्वाधारसँग जोडिएका व्यवसायीहरू पनि चुनावमा विजयी भएका छन् । मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ तेस्रोपटक प्रतिनिधिसभामा निर्वाचित भएका छन् । उनी पर्यटन तथा सेवा क्षेत्रमा आबद्ध व्यवसायी हुन् र यसअघि श्रममन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
रसुवाबाट नेपाली कांग्रेसकै मोहन आचार्य पनि तेस्रोपटक सांसद बनेका छन् । उनी निर्माण व्यवसायमा सक्रिय छन्। त्यस्तै मुस्ताङबाट नेपाली कांग्रेसका पर्यटन व्यवसायी योगेश गौचन थकाली पनि निर्वाचित भएका छन्।
स्याङ्जा–१ बाट रास्वपाका पर्यटन व्यवसायी तथा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मी निर्वाचित भएका छन्। बर्दिया–२ बाट पर्यटन व्यवसायी श्रीधर पोख्रेल पहिलो पटक सांसद बनेका छन् ।
त्यस्तै ऊर्जा क्षेत्रमा सक्रिय व्यवसायीहरू पनि संसद्मा पुगेका छन्। सिन्धुपाल्चोक–१ बाट रास्वपाका भरतप्रसाद पराजुली निर्वाचित भएका छन् । तनहुँ–२ बाट रास्वपाकै ऊर्जा क्षेत्रमा संलग्न श्रीराम न्यौपाने पनि पहिलोपटक सांसद बनेका छन्।
निर्माण व्यवसायमा सक्रिय व्यक्तिहरू पनि प्रतिनिधिसभामा पुगेका छन्। पर्सा–३ बाट रामाकान्त प्रसाद चौरसिया, बैतडी–१ बाट हरि मोहन भण्डारी र धनुषा–२ बाट रामविनोद यादव निर्वाचित भएका छन्।
डोल्पाबाट नेपाली कम्युनिष्ट पार्टीका धनबहादुर बुढा विजयी भएका छन् । उनी निर्माण व्यवसायसँग आबद्ध रहँदै यसअघि शहरी विकास तथा पर्यटन राज्यमन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
सोलुखुम्बु–१ बाट नेपाली कांग्रेसका कुरियर तथा कार्गो व्यवसायमा सक्रिय प्रकाशसिंह कार्की निर्वाचित भएका छन् भने उदयपुर–१ बाट अटो व्यवसायी पारसमणि गेलाल संसद्मा पुगेका छन्।
यसैगरी नयाँ पुस्ताका उद्यमीहरू पनि प्रतिनिधिसभामा प्रवेश गरेका छन्। धनुषा–३ बाट मनिष झा निर्वाचित भएका छन्। उनी तथ्यांकसम्बन्धी संस्था ‘फ्याक्ट्स नेपाल’ का संस्थापक हुन्।
त्यस्तै बारा–३ बाट डिजिटल भुक्तानी सेवा ‘खल्ती’ का सह–संस्थापक अरविन्द साह पनि सांसद बनेका छन्।
सर्लाही–१ बाट व्यवसायी नितिमा कार्की भण्डारी निर्वाचित भएकी छन्। उनी होटल तथा खाद्य व्यवसायसँग आबद्ध उद्यमीका रूपमा चिनिन्छिन्।
निर्वाचनमा सबै व्यवसायी सफल भने भएनन् । केही चर्चित उद्योगी तथा उद्यमीहरू चुनावमा पराजित भएका छन्। उदाहरणका रूपमा नवल परासीबाट डलर अर्वपति विनोद चौधरी, पर्साबाट उद्योगी अनिल रुंगटा, मोरङ–३ बाट मेडिकल व्यवसायी सुनीलकुमार शर्मा, धादिङबाट पर्यटन व्यवसायी रमेश धमला र रुपन्देही–२ बाट उद्योगी चुन्नप्रसाद शर्मा पौडेल चुनाव जित्न सकेनन्।
यसैगरी झापा, गोरखा, कैलाली, मोरङ, कपिलवस्तु लगायतका क्षेत्रमा उद्योग, पर्यटन, बैंकिङ, यातायात र घरजग्गा व्यवसायमा संलग्न उम्मेदवारहरू पनि पराजित भएका छन्।
व्यवसायी पृष्ठभूमिका उम्मेदवारहरूको बढ्दो सहभागिताले आर्थिक नीति निर्माणमा निजी क्षेत्रको आवाज बलियो बन्ने अपेक्षा गरिएको छ।
उद्योग, पर्यटन, ऊर्जा र सेवा क्षेत्रसँग प्रत्यक्ष अनुभव भएका व्यक्तिहरू संसद्मा पुगेपछि आर्थिक विकास, लगानी प्रवद्र्धन र नीतिगत सुधारका विषयमा व्यावहारिक दृष्टिकोण आउने अपेक्षा गरिएको छ ।
को को थिए उम्मेदवार
नेपाली कांग्रेस
विनोद चौधरी (पश्चिम नवलपरासी क्षेत्र नम्बर १)
भरतराज ढकाल (स्याङ्जा क्षेत्र नम्बर १)
दीपक गिरी (दाङ क्षेत्र नम्बर ३)
कृष्ण रिजाल (धादिङ)
रमेश धमला (धादिङ)
प्रेम खत्री (गोरखा क्षेत्र नम्बर १)
चुन्नप्रसाद शर्मा (पौडेल) (रुपन्देही क्षेत्र नम्बर २)
प्रकाशसिंह कार्की (सोलुखुम्बु)
डा. सुनील शर्मा (मोरङ क्षेत्र नम्बर ३)
अनिल रुङ्गटा (पर्सा क्षेत्र नम्बर १)
टेकबहादुर गुरुङ (मनाङ)
योगेश गौचन थकाली (मुस्ताङ)
मोहन आचार्य (रसुवा)
भुवन श्रेष्ठ (गुल्मी क्षेत्र नम्बर २)
कर्णबहादुर बुढा (डोल्पा)
तिलक रानाभाट (कास्की क्षेत्र नम्बर १)
केशव पाण्डे (झापा क्षेत्र नम्बर १)
राजेन्द्र घिमिरे (झापा क्षेत्र नम्बर ३)
विजयबहादुर स्वाँर (कैलाली क्षेत्र नम्बर २)
नेकपा (एमाले)
वीरेन्द्रप्रसाद कनौडिया (कपिलवस्तु क्षेत्र नम्बर ३)
कृष्णकुमार (किसान) श्रेष्ठ (बारा क्षेत्र नम्बर ४)
लालप्रसाद लिम्बु (एलपी साँवा) (झापा क्षेत्र नम्बर ४)
भगीरथ सापकोटा (नवलपुर क्षेत्र नम्बर १)
मीनप्रसाद गुरुङ (स्याङ्जा क्षेत्र नम्बर १)
अमित लामा (काभ्रे क्षेत्र नम्बर १)
पोल्देन छोपाङ गुरुङ (मनाङ)
मिलन गुरुङ (चक्रे मिलन) (गोरखा क्षेत्र नम्बर २)
हिराबहादुर केसी (बागलुङ क्षेत्र नम्बर २)
भगवती चौधरी (सुनसरी क्षेत्र नम्बर ३)
रामचन्द्र उप्रेती (झापा क्षेत्र नम्बर १)
दिलिप अग्रवाल (मोरङ क्षेत्र नम्बर २)
मनोज अग्रवाल (मोरङ क्षेत्र नम्बर ५)
उमाशंकर अर्घरिया (धनुषा क्षेत्र नम्बर २)
पार्वत गुरुङ (दोलखा)
खिमबहादुर थापा (स्याङ्जा क्षेत्र नम्बर २)
राष्ट्रिय स्वतन्त्र पार्टी
डीपी अर्याल (काठमाडौं क्षेत्र नम्बर ९)
अरविन्द साह (बारा क्षेत्र नम्बर ३)
सुनिल केसी (काठमाडौं क्षेत्र नम्बर २)
हरि ढकाल (चितवन क्षेत्र नम्बर १)
लेखजंग थापा (रुपन्देही क्षेत्र नम्बर ३)
बिपिन आचार्य (दाङ क्षेत्र नम्बर २)
रुकेश रञ्जित (भक्तपुर क्षेत्र नम्बर १)
भरत प्रसाद पराजुली ( सिन्धुपालचोक क्षेत्र नम्बर १)
जनमत पार्टी
वीरेन्द्र महतो (सिरहा क्षेत्र नम्बर ४)
उज्यालो नेपाल
कुशल गुरुङ (कास्की क्षेत्र नम्बर २)
नेपाली कम्युनिष्ट पार्टी
राजेन्द्रप्रसाद पाण्डे (धादिङ क्षेत्र नम्बर १)
सुमन सायमी (काठमाडौं क्षेत्र नम्बर ८)
धनबहादुर बुढा (डोल्पा)











प्रतिक्रिया