काठमाडौं
अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षक संस्था एसियाली नेटवर्क फर फ्रि इलेक्सन (एन्फ्रेल) ले नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण र व्यवस्थित भएको जनाएको छ। एन्फ्रेलले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचनको अन्तरिम प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन आयोगले छोटो समय र अपूर्ण पदाधिकारी बाबजुद पनि प्राविधिक तयारीहरू कुशलतापूर्वक पूरा गरेको उल्लेख गरेको छ। भदौ २३ र २४ मा भएको राजनीतिक उथलपुथलका बाबजुद पनि नेपाली जनताले लोकतान्त्रिक प्रक्रियाप्रति बलियो प्रतिबद्धता देखाएको एन्फ्रेलको भनाई छ । प्रतिवेदनमा विशेष गरी दुर्गम क्षेत्रहरूमा मतदाता शिक्षा र सूचनाको पहुँचमा कमी देखिएको तर समग्र रूपमा निर्वाचन शान्तिपूर्ण भएको उल्लेख गरिएको छ।

कार्यक्रममा एन्फ्रेलकी पर्यवेक्षण टोली प्रमुख अधिवक्ता रोनाले निर्वाचनका क्रममा चुनावी आचारसंहिताको कार्यान्वयन मुख्य चुनौती रहेको बताइन्। प्रतिवेदन अनुसार अनुगमन संयन्त्र भए पनि धेरै उल्लङ्घनमा कारबाही नभएको र यसले राजनीतिक जवाफदेहितामा प्रश्न उठाएको छ। कानुनी रूपमा तोकिएको खर्च सीमा उल्लङ्घन गर्ने उम्मेदवारको संख्या बढी भएको र यसले आर्थिक रूपमा कमजोर महिला तथा सीमान्तकृत समूहका उम्मेदवारलाई प्रतिस्पर्धा गर्न कठिन बनाएको पर्यवेक्षकहरूले औँल्याएका छन्।

मतदानको दिन सुरक्षा व्यवस्था मजबूत भए तापनि केही मतदान केन्द्र भित्र हतियारधारी सुरक्षाकर्मीको उपस्थिति देखिएकोले भविष्यमा स्पष्ट निर्देशिका आवश्यक रहेको प्रतिवेदनमा सुझाइएको छ।भौगोलिक विकटता र संरचनागत कठिनाइका कारण अपांगता भएका व्यक्ति तथा वृद्धवृद्धाका लागि धेरै मतदान केन्द्र पहुँचयोग्य नभएको पनि प्रतिवेदनले देखाएको छ। एन्फ्रेलकी कार्यकारी निर्देशक बृज्जा रोसालेस ले आगामी एक महिनाभित्र निर्वाचन आयोगलाई पूर्ण प्रतिवेदन बुझाइने र सुझाव तथा सिफारिसहरू आयोगले कार्यान्वयन गर्नेमा विश्वास व्यक्त गरेकी छन्।

निर्वाचन पर्यवेक्षण टोली संयोजक डा. मञ्जेश राणा ले ३५ जिल्लाका ६०० मतदान केन्द्रहरू अवलोकन गरी ६ सयभन्दा बढी सरोकारवालासँग वार्ता गरेर प्रतिवेदन तयार पारिएको जानकारी दिएका छन्। पत्रकार सम्मेलनमा निर्वाचन विश्लेषक मरियम सारा नसिम पनि उपस्थित थिइन्।











प्रतिक्रिया