हेटौंडा।
अन्य जिल्लाको लहरसँगै मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ र २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरु विजयी हुनुभएको छ।
क्षेत्र–१ बाट प्रकाश गौतम र २ बाट प्रशान्त उप्रेती फराकिलो मतान्तरसहित विजयी हुनुभएको हो । ३७ वर्षीय गौतमले ३६ हजार ३३ मत प्राप्त गर्दै आफ्ना प्रमुख प्रतिस्पर्धीलाई दोब्बरभन्दा बढी मतले पराजित गर्दा २५ वर्षीय उप्रेतीले नेकपा एमालेका शक्तिशाली उम्मेदवार महेशकुमार बर्तौलालाई १२ हजार १ सय १ मतान्तरले पराजित गर्नुभएको हो ।
गौतमका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनाले १४ हजार ३८ मत प्राप्त गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का रामेश्वर राना १२ हजार ७ सय ८३ मतसहित तेस्रो स्थानमा सीमित हुनुभयो । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी हुनुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह यसपटक भने छैटौं स्थानमा रहनुभयो । उहाँले ४ हजार ५ सय ७४ मतमात्र प्राप्त गर्नुभयो ।
अन्य उम्मेदवारमध्ये नेपाली कम्युनिष्ट पार्टीका विजय गौतमले १० हजार ७ सय ८८ मत, उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले १० हजार २ सय ५ मत तथा श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठले १ हजार २४ मत प्राप्त गर्नुभयो । उक्त क्षेत्रमा कुल ९५ हजार ३ सय १० मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट दीपकबहादुर सिंह २७ हजार ८ सय १६ मत ल्याएर विजयी हुँदा महालक्ष्मी उपाध्याय डीना २५ हजार ४ सय ३४ मतसहित दोस्रो हुनुभएको थियो । यस पटकको परिणामसँगै एमालेका रामेश्वर रानाको संघीय संसद प्रवेश गर्ने दोस्रो प्रयास पनि असफल भएको छ भने डीनाले प्रत्यक्ष निर्वाचनमा पाँचौं पटक पराजय भोग्नुभएको छ । पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएका गौतमले भने उल्लेखनीय मत ल्याउन सफल हुनुभएको छ ।
क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उप्रेतीले ३१ हजार ७ सय २५ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसका बुद्ध लामा १५ हजार ४ सय ३६ मतसहित तेस्रो हुनुभयो । उक्त क्षेत्रमा कुल ९१ हजार २ सय ४१ मत खसेको थियो । पछिल्लो निर्वाचन २०७९ मा एमालेका बर्तौला विजयी हुनुभएको थियो ।
प्रतिनिधिसभा सदस्य चुनावमा २५ वर्ष उमेरमै विजयी हुनुभयो उप्रेती । उप्रेती हालसम्म विजयी उम्मेदवारमध्ये सबभन्दा कम उमेरका हुनुहुन्छ । उहाँले एमालेका संसदमा मुख्य सचेतक बर्तौलालाई हराउनुभएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका–७ का उप्रेतीले पहिलो प्रयासमा नै संसदीय यात्रा तय गर्न सफल हुनुभयो । मकवानपुर–२ त २०४८ सालदेखि वामपन्थीको किल्लाका रुपमा रहँदै आएको थियो । उप्रेती हाल काठमाडौं विश्वविद्यालय, शिक्षा संकायमा नेतृत्व तथा व्यवस्थापन विषयमा शिक्षाशास्त्रमा स्नातकोत्तर अध्ययनरत हुनुहुन्छ । उहाँले नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्टबाट ब्याचलर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट पास गर्नुभएको छ । यसअघि उहाँले ग्लोबल कलेज अफ म्यानेजमेन्टबाट व्यवस्थापन विषयमा प्लस टु पास गर्नुभएको थियो ।
मकवानपुरको टिकट पाउनुअघि उहाँले काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको सचिवालयमा काम गनुएभएको थियो । उहाँको घरपरिवार भने एमाले पृष्ठभूमिको हो ।

एमालेमा हलचल
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपश्चात सत्ताच्युत भएसँगै सडकमा पुगेको बेला पनि चुपचाप रहेका नेकपा एमालेका मकवानपुर अध्यक्ष श्रीधर पोखरेलको राजीनामा स्वीकृत गरी पार्टी जिल्ला उपाध्यक्ष हिदम लामालाई कार्यबाहकको जिम्मेवारी दिइएको छ । उहाँले आइतबार राजीनामाको घोषणा गर्नुभएको थियो ।
पछिल्लो समय स्थानीय राजनीतिक मोमेन्टमा नदेखिएको भन्दै नेकपा एमाले मकवानपुर अध्यक्ष पोखरेलको विषयमा विभिन्न कोणबाट टिप्पणी भएका थिए । कतिपयले उहाँले जेनजी आन्दोलनलाई समर्थन गरी पार्टी परित्याग गरिसकेको समेत भन्न भ्याएका थिए । तर, पार्टी कामका सिलसिलामा ब्रेन ह्यामरेज भएपछि उपचारमा रहेका पोखरेल स्वास्थ्यलाभ गरिरहनुभएको छ ।
पोखरेलले आफ्नो स्वास्थ्य अवस्था कमजोर भएका कारण राजनीतिक गतिविधिमा सहभागी हुन नसकेको बताउनुभएको थियो । ‘स्वास्थ्य नै ठीक छैन । कसरी सहभागी हुनु,’ असार २० गते जिल्ला कमिटीको बैठक राखेर आफूले आफ्नो स्वास्थ्य अवस्थाका विषयमा जिल्लाका सबै नेताहरुलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
‘मेरा विषयमा अनावश्यक टीकाटिप्पणी भएको सुन्दा पार्टीभित्र मानवीय समवेदना हराउँदै गएको महसुस भएको थियो,’ पोखरेलले आफू लामो समय उठेर बस्नसमेत नसक्ने अवस्थामा रहेको बताउनुभयो ।
२०३६ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनबाट सक्रिय राजनीतिमा प्रवेश गर्नुभएका पोखरेल गत वर्ष नेकपा एमाले मकवानपुरको अध्यक्ष निर्वाचित हुनुभएको हो । पार्टी विभाजनपश्चात माधब नेपाल नेतृत्वको नेकपा (एस) को जिल्ला अध्यक्ष बन्नुभएका उहाँ स्थानीय तहको निर्वाचनको समयमा एमालेमा फर्किनुभएको थियो ।
पोखरेल आफ्नो उपचारमा व्यस्त हुँदा एमाले मकवानपुरका उपाध्यक्ष लामाले नै पार्टीका गतिविधि हाँकिरहनुभएको थियो ।
एमाले मकवानपुरले प्रेस विज्ञप्ती जारी गर्दै एमाले मकवानपुरको ११ औं अधिवेशनबाट निर्वाचित अध्यक्ष पोखरेल ५ महिनादेखि पार्टीको नियमित काम र सम्पर्कमा समेत नरहेको सन्दर्भमा सामाजिकसञ्जालमा सार्वजनिक भएको ‘जिम्मेवारीबाट राजीनामा दिएको’ भन्ने अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘पार्टीको नियमित काम र गतिविधिमा सम्पर्क र सहभागिता नजनाइ, पार्टीलाई कुनै जानकारी नगरी मौन बसेका अध्यक्ष पोखरेलले निर्वाचन परिणामको विषयलाई लक्षित गरी आफ्नो फेसबुक पेजमार्फत राजीनामा दिइएको अभिव्यक्ति सार्वजनिक गरेको विषयलाई पार्टीले गम्भीरतासाथ लिएको छ,’ विज्ञप्तीमा यस विषयमा छलफल गर्न आइतबार बसेको जिल्ला सचिवालयको बैठकले यसबाट पार्टीपंक्ति र सार्वजनिकरुपमा परेको भ्रमको पूर्णरुपमा खण्डन गर्दै पोखरेललाई पदमुक्त गरेको र उपाध्यक्ष लामालाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको सार्वजनिक गरिएको छ ।











प्रतिक्रिया