पाठकपत्र: देश बनाउने राजनीतिक डाक्टर चाहियो


जिन्दगी भ्रष्टाचारीको चङ्गुलमा बित्यो । हाम्रो देशमा राम्रो सिद्धान्त हुनेले पाइला राख्न पाउँदैनन्, जहिले पनि चिप्लेकीराजस्तै चिप्लो कुरा गर्ने कांग्रेस, एमाले, माओवादी सबै उस्तै हुन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनताका समस्या कहिल्यै बुझ्दैनन् । खालि सरकारमा जाने हेतुले पैसा खर्च गरी मासु–भात खुवाएर चुनाव जित्ने अनि उच्च सगरमाथा पुगेको सम्झिने । कांग्रेसबाट पाँचपटक शेरबहादुर देउवा, चारपटक केपी ओली र तीनपटक प्रचण्ड प्रधानमन्त्री बने तर जनतालाई फाइदा हुने काम सिन्को पनि भाँचेनन् । बरु नेपालको खोलानाला भारतलाई बेचे । संविधानको मर्म विपरीत काम गरे । एमसीसी, नागरिकता विधेयक यसका उदाहरण हुन् । यस्ता पार्टीहरुको काम चिप्लेकीराले जता गयो उतै आफ्नो निशाना छोडेजस्तै जनतामा सर्वविदित नै छ । जनताले आफ्नो घरको चुलो बाल्न र आर्थिक अवस्था उकास्न विदेशिनुपरेको छ । किनभने देशमा कलकारखाना छैन, रोजगारी छैन र विदेशिनु बाध्यताजस्तै भएको छ, आफ्नो र अभिभावकको इच्छाविना पनि ।

उचित रोजगारी र अवसर राष्ट्रले व्यवस्था गरेको भए विदेशिनु नपर्ने थियो । देशको अवस्थाले गर्दा अभिभावकको मानसिकतामा पनि परिवर्तन ल्याउन गाह्रो छ । इष्टमित्र विदेशिँदा आर्थिक सम्पन्नता देखेको समाजले आफ्ना सन्तानले आफ्नै देशमा केही गरुन् भन्ने मानसिकता हराएको छ ।

आमाबुबाले पनि सन्तानलाई विदेश नगई यतै केही गर भन्न सकेका छैनन् । देशमै रोजगारी र अवसर भएको भए जनआन्दोलन र जेनजी आन्दोलन हुने थिएन । एउटा मादलको गीतले हृदय सफा हुन्छ, आनन्द हुन्छ भनेझैँ एउटा वाक्यले दिमाग सफा हुन्छ । उहिलेको बाजेको पालामा मोहर गन्थे डालामा, अहिले हाम्रो पालामा मकै छैन डालामा भनेजस्तै उहिले ल्याप्चे छाप लाउने समयमा मठ–मन्दिर, देवालय, शिवालय, सार्वजनिक जग्गा, पर्ती जग्गा, गौचरन थिए तर अहिले लोप भएका छन् । सम्बन्धित निकायले उचित जगेर्ना गर्नुपर्ने देखिन्छ । तर अहिले कांग्रेस, एमाले, माओवादीले देश बिगारे भनेर बदनाम कमाएका छन् । स्वस्थ हुन डाक्टर चाहिएजस्तै देश बनाउने राजनीतिक डाक्टर चाहियो । देश कतातिर गयो ? त्यस कारण हामीले हाम्रो सोच बदलौँ ।

– तुल्सीनारायण लाखेमरु, सूर्यविनायक–८, भक्तपुर