बझाङमा निर्वाचन सुरक्षा कडा पार्न गृहमन्त्रीको निर्देशन

3.1k
Shares

बझाङ।

आगामी निर्वाचनको सुरक्षा तयारी र व्यवस्थापनको अवस्था बुझ्न गृहमन्त्री ओमप्रकाश अर्याल आइतबार हेलिकप्टरमार्फत बझाङ पुगेका छन् । उनले जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिसँग छलफल गर्दै शान्तिसुरक्षा अवस्था र निर्वाचन तयारीबारे जानकारी लिएका हुन् ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अर्यालले उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गरी निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गरिने बताए । उनले भने, ‘विगतका निर्वाचनमा देखिएका कमजोरी दोहोरिन दिन्नौँ । प्रशासन अहिले निष्पक्ष र स्वतन्त्र छ, सक्षम पनि छ ।’

प्रमुख जिल्ला अधिकारी मुकेश केशरीलाई उद्धृत गर्दै उनले प्रशासनिक संयन्त्र निर्वाचन सम्पन्न गराउन तयार रहेको बताए । मन्त्री अर्यालले बझाङको भौगोलिक विकटता र विगतमा देखिएका राजनीतिक जटिलताबारे उल्लेख गर्दै अघिल्ला चुनावमा धाँधली, अरूको नाममा मतदान, मृतकका नाममा मत हाल्ने तथा बुथ क्याप्चरजस्ता गतिविधि भएको सन्दर्भ स्मरण गर्दै यसपालि त्यस्ता गतिविधि दोहोरिन नदिने बताए ।

निर्वाचनविरुद्ध गतिविधि गर्ने जो–कोहीलाई कानुनअनुसार कारबाही गरिने उनको चेतावनी दिएका छन् । उनले भने,‘राष्ट्रसेवक कर्मचारी होस्, सर्वसाधारण मतदाता होस्, उम्मेदवार, कार्यकर्ता वा अन्य कुनै व्यक्ति—कसैले पनि निर्वाचनविरुद्ध काम गरे कानुनी दायरामा ल्याइन्छ ।’

संवाद र समन्वयबाट सम्भावित समस्या समाधान गर्ने प्रयास गरिने उल्लेख गर्दै उनले आवश्यक परे नियन्त्रणमा लिनसमेत पछि नहट्ने बताए । ‘हामी निर्वाचन मात्र गराउँदैनौँ, कानुन उल्लंघन गर्नेहरूलाई सजाय दिलाउँछौँ ।’ उनले भने मन्त्री अर्यालले सबै सरोकारवाला पक्षलाई शान्तिपूर्ण र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेका छन् ।