उपाधि जितेर प्रिया राईले रचिन् इतिहास


काठमाडौं ।

हङकङको कठिन भूगोल र चुनौतीपूर्ण मौसमलाई माथ दिँदै नेपाली अल्ट्रा रनर प्रिया राईले दोस्रो पटक एसिया ट्रेल मास्टर (एटीएम) को उपाधि जितेर इतिहास रचेकी छन् ।

हङकङमा भएको एसिया ट्रेल मास्टरमा प्रियाले महिला ७२ किमीमा पहिलो हुँदै स्वर्ण जितेकी हुन् । प्रियाले ९ घण्टा ५७ मिनेटमा निर्धारित दूरी पूरा गरेकी थिइन् । एसिया ट्रेल मास्टर (एटीएम) को एक दशक लामो इतिहासमा लगातार दुई पटक उपाधि जितेर उनले कीर्तिमान रचेकी हुन ।

हङकङ र सिंगापुरका प्रतिस्पर्धीहरूलाई निकै पछि पार्दै स्वर्ण जितेकी प्रिया यस्तो गौरवपूर्ण सफलता हात पार्ने पहिलो नेपाली धाविका समेत बनेकी छन् । यसअघि सन् २०२४ मा पनि च्याम्पियन बनेकी उनले यो जितसँगै एसियाली ट्रेलमा आफ्नो एकछत्र दबदबा प्रमाणित गरेकी छन् ।

यसपटकको रेसमा नेपालबाट अन्य खेलाडीहरू भिसा समस्याका कारण सहभागी हुन नपाउँदा मैदानमा प्रिया एक्लै थिइन् । तर, उनको आत्मविश्वास भने हिमाल जस्तै अटल देखियो । रेसपछि आफ्नो अनुभव सुनाउँदै उनले ट्रेल र मौसम निकै कठिन भए पनि अन्य प्रतिस्पर्धीबाट खासै ठूलो चुनौती महसुस नभएको प्रतिक्रिया दिइन् ।

खोटाङको ऐन्सेलुखर्कबाट सुरु भएको उनको यो यात्राले म्यानमारको कालाव अल्ट्रा ट्रेलदेखि नेपालको मन्जुश्री ट्रेल रेससम्म सफलताको झण्डा गाडिसकेको छ । एकपछि अर्को अन्तर्राष्ट्रिय पदक चुम्दै गरेकी प्रियाले पुरुषतर्फका विजेता फिलिपिन्सका जोन रे ओनिफासँगै इतिहासको पानामा आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भएकी छन् ।