तेहरान।
आयतोल्लाह अली खामेनी को अवस्थालाई लिएर विश्वभर विरोधाभासपूर्ण रिपोर्टहरू सार्वजनिक भइरहेका छन्। उनको आधिकारिक निवास क्षेत्रलाई लक्षित गरी भएको आक्रमणपछि ८६ वर्षीय खामेनीको जीवन र स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी सुरु भएका हुन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै आक्रमण अत्यन्तै सटीक र योजनाबद्ध रहेको जनाएका छन्। केही रिपोर्टमा खामेनी सुरक्षित स्थानमा सारिएको उल्लेख गरिएको छ भने अन्य स्रोतहरूले उनी गम्भीर घाइते भएको दाबी गरेका छन्। यद्यपि इरानी सरकारी सञ्चारमाध्यमले भने यी दाबीहरूलाई पुष्टि गरेका छैनन्।
आक्रमणपछि तेहरानसहित देशभर सुरक्षा सतर्कता उच्च पारिएको छ। राजधानीका प्रमुख सरकारी भवनहरू र सैन्य प्रतिष्ठानहरू वरिपरि अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ। सामाजिक सञ्जालमा विभिन्न अपुष्ट भिडियो र तस्बिरहरू सार्वजनिक भइरहेका छन्, तर ती सामग्रीहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
इरानी उच्च नेतृत्वको अवस्थाबारे स्पष्ट जानकारी नआएसम्म मध्यपूर्व क्षेत्रको राजनीतिक र सैन्य परिस्थिति थप तनावपूर्ण बन्न सक्ने विश्लेषकहरूको भनाइ छ। खामेनी लामो समयदेखि इरानको शक्ति संरचनाको केन्द्रमा रहँदै आएका छन्, त्यसैले उनको अवस्थासम्बन्धी अन्योलले आन्तरिक शक्ति सन्तुलन र क्षेत्रीय समीकरणमा प्रभाव पार्न सक्ने देखिएको छ।
सरकारी तवरबाट औपचारिक वक्तव्य आउन बाँकी रहेकाले अहिलेका सबै विवरणहरू प्रारम्भिक र अपुष्ट स्रोतमा आधारित रहेका छन्।











प्रतिक्रिया