काठमाडौं ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दर्जनौं शीर्ष नेताले आफैंलाई मतदान गर्न पाउने छैनन् । फरक निर्वाचन क्षेत्रबाट उम्मेदवार भएका ती शीर्ष नेताले फरक निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका कारण भोट हाल्न नपाउने भएका हुन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारी दिएका क्षेत्रबाट भोट हाल्न पाउने छैनन् ।
काठमाडौं क्षेत्र नं. ४ का बासिन्दा रहेका नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सर्लाही–४ बाट उम्मेदवारी दिनुभएको छ । भक्तपुर–२ का मतदाता रहेका ओलीले झापा–५ बाट उम्मेदवारी दिनुभएको छ । चितवन–३ का मतदाता रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहालले पूर्वी रूकुमबाट उम्मेदवारी दिनुभएको छ । रास्वपाका सभापति रवि लामछिाने चितवन–२ बाट उम्मेदवारी दिनुभएको छ । उहाँको मतदाता नामावली काठमाडौं–३ मा छ ।
प्रतिनिधिसभा निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा ती नेताहरू आफ्नो क्षेत्र छाडेर स्थायी बसोबास रहेको स्थानमा मतदान गर्न आउँछन् कि आउँदैनन् हेर्न बाँकी छ । प्रधानमन्त्रीका दाबेदार बालेन्द्र साहले समेत आफ्नो क्षेत्रमा मतदान गर्न पाउने छैनन् । साह काठमाडौं–२ को मतदाता हुनुहुन्छ । यसअघि नेपाली कांग्रेसका सभापति थापा काठमाडौं–४ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । एमाले अध्यक्ष ओली पटकपटक झापा–५ बाट निर्वाचित भइसक्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति थापा आफ्नो निर्वाचन क्षेत्र छाडेर यो निर्वाचनमा मधेस झर्नुभएको छ । थापा र ओली भिडेको निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारसँग कडा टक्कर पर्ने देखिन्छ । झापा–५ मा साह र सर्लाही–४ मा अमरेशकुमार सिंहले उम्मेदवारी दिनुभएको छ । साह रास्वपाका वरिष्ठ नेता हुनुहुन्छ भने सिंह निर्वाचनअघि नेपाली कांगे्रस छाडेर रास्वपा प्रवेश गर्नुभएको थियो ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरी–३ बाट उम्मेदवार हुनुहुन्छ । उहाँको नामावली मोरङ–५ मा छ । नेकपाका नेता नारायणकाजी श्रेष्ठ सिरहा–३ बाट उम्मेदवार हुनुहुन्छ । उहाँले मतदान गर्ने क्षेत्र गोरखा–२ हो । कांग्रेस महामन्त्री प्रदीप पौडेल काठमाडौं–५ बाट चुनाव लड्दै हुनुहुन्छ तर मतदाता नामावली तनहुँ–२ मा छ ।
रास्वपा उपसभापति स्वर्णिम वाग्ले तनहुँ–१ बाट उम्मेदवार हुनुहुन्छ । उहाँको नामावली गोरखा–१ मा छ । राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं–१ बाट उम्मेदवार भए पनि मतदाता नामावली ललितपुर–३ मा छ । एमाले सचिव भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार हुनुहुन्छ । तर, उहाँको नामावली मोरङ–३ मा छ । चितवन–३ बाट उम्मेदवारी दिनुभएका रास्वपाका नेता सोविता गौतम काठमाडौं–२ छाडेर चितवन–३ मा रेनु दाहालसँग प्रतिस्पर्धा गर्न पुग्नुभएको हो ।
कांग्रेस नेता डा. शेखर कोइराला मोरङ–६ बाट चुनाव लड्दै हुनुहुछ । उहाँको मतदाता नामावली मोरङ–४ मा छ । राप्रपाका नेता कमल थापाको नाम मकवानपुर–१ मा छ । थापा काठमाडांै–५ बाट निर्वाचनमा भाग लिँदै हुनुहुन्छ । एमालेका वासुदेव घिमिरे, नेपाली कम्युनिस्ट पार्टीका देवेन्द्र पौडेल, प्रेम आलेलगायत नेताले फरक क्षेत्रबाट उम्मेदवारी दिनुभएको छ । फरक क्षेत्रबाट मतदान गर्दा जित्ने आशमा अधिकांश शीर्ष नेताले क्षेत्र परिवर्तन गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष दाहालले हरेक पटक फरक क्षेत्र रोज्ने गर्नुभएको छ । अघिल्लो निर्वाचनमा उहाँ गोरखाबाट निर्वाचित हुनुभएको छ । कमजोर प्रत्यासी र जित्ने निश्चित भएका निर्वाचन क्षेत्रबाट मात्रै उम्मेदवार बन्ने दाहालले यो पटक पूर्वी रूकुम रोज्नुभएको छ । नेपाली कांग्रेस सभापति थापाले पहिलोपटक काठमाडौं छाड्नभएको हो । रास्वपाका सभापति लामिछानेको अघिल्लो निर्वाचन क्षेत्र पनि चितवन–३ नै हो । सविता गौतम, नारायणकाजी श्रेष्ठ, प्रेम आले, उपेन्द्र यादवलगायत आधा दर्जन बढी नेता सजिलो खोज्दै क्षेत्र परिवर्तन गर्ने गरेका छन् ।











प्रतिक्रिया