फेक रेस्क्यु प्रकरणमा एससीइ द हिमालयका संचालक प्रेमबहादुर खत्रीमाथि छानबिन सुरु सीआईबीको अनुसन्धान तीव्र

पर्यटन क्षेत्र फेरि विवादमा


काठमाडौं ।

बहुचर्चित ‘एफईसीके रेस्क्यु’ प्रकरणमा ट्रेकिङ व्यवसायीसमेत जोडिएको खुलासा भएपछि पर्यटन क्षेत्र फेरि एकपटक तरंगित भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सीआईवीले एससीई द हिमालय टुर्स एण्ड प्रालिका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत प्रेमकुमार खत्री माथि समेत अनुसन्धान अघि बढाएको जनाएको छ।खत्री अहिले गोरखा क्षेत्र नम्वर १ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवरको रुपमा प्रतिस्प्रर्धा गरी रहनु भएको छ । सो कम्पनीले फेक रेस्क्यु प्रकरणमा करोडौ घोटला गरेको भन्दै सीआईवीले छानवीन अघि बढाएको हो ।

सीआईबी स्रोतका अनुसार विदेशी पर्यटक उद्धार (रेस्क्यु) का नाममा अस्पताल, बीमा कम्पनी र ट्राभल एजेन्सीबीच मिलेमतो गरी ठगी गरिएको आशंकामा विस्तृत छानबिन थालिएको हो। यस प्रकरणमा विभिन्न ट्रेकिङ कम्पनीमार्फत ‘फेक रेस्क्यु’ देखाएर बीमा दाबी गरिएको निष्कर्ष निस्किएको बताइएको छ। सीआईवीले छानवीन शुरु गरेपछि खत्री तनावमा परेका छन । बिभिन्न शक्ति केन्द्र मार्फत सीआईवीलाई प्रभावित पार्ने काममा खत्रीको समुह लागेको छ । अनुसन्धान अधिकारीहरूका अनुसार केही ट्रेकिङ कम्पनीले सामान्य स्वास्थ्य समस्या भएका वा आवश्यक नै नभएका पर्यटकलाई हेलिकप्टरमार्फत उद्धार गरिएको देखाई बीमा कम्पनीबाट ठूलो रकम असुल गर्ने गरेको आशंका छ।

कतिपय अवस्थामा उद्धार नै नभए पनि कागजी प्रक्रिया मिलाएर बीमा दाबी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको स्रोत बताउँछ। यसै सिलसिलामा ठमेलस्थित ट्रेकिङ एजेन्सी एससीइ द हिमालय टुर्स एण्ड प्रालि पनि अनुसन्धानको दायरामा आएको हो। सीआईबीका एक उच्च अधिकारीका अनुसार, ‘पर्यटन क्षेत्रसँग सम्बन्धित केही कम्पनीमाथि गहन अनुसन्धान भइरहेको छ। आवश्यक कागजात संकलन, बैंक कारोबार विवरण र बीमा दाबी प्रक्रियाको परीक्षण भइरहेको छ।’ प्रहरीले सम्बन्धित कम्पनीका सञ्चालक तथा कर्मचारीसँग बयान लिने क्रम जारी रहेको जनाएको छ।

आवश्यक परेमा पक्राउ प्रक्रिया पनि अघि बढ्न सक्ने संकेत दिइएको छ। नेपालको ट्रेकिङ र हिमाली पर्यटन क्षेत्र विश्वसनीयतामा आधारित व्यवसाय हो। विशेष गरी एभरेस्ट बेस क्याम्प, अन्नपूर्ण सर्किट, लाङटाङ लगायतका पदयात्रा क्षेत्रमा उद्धार सेवा महत्वपूर्ण मानिन्छ। तर उद्धार प्रणालीलाई नै दुरुपयोग गरी आर्थिक अनियमितता भएको प्रमाणित भए यसले अन्तर्राष्ट्रिय स्तरमै नेपालको छविमा असर पार्न सक्ने विज्ञहरू बताउँछन्।

पर्यटन व्यवसायीहरू भने केही व्यक्तिको कारण सिंगो क्षेत्र बदनाम हुन नहुने तर्क गर्छन्। सीआईबीले बीमा कम्पनी, अस्पताल र ट्रेकिङ एजेन्सीबीचको आर्थिक लेनदेन तथा उद्धार रेकर्डको क्रस–भेरिफिकेसन गरिरहेको जनाएको छ। प्रारम्भिक प्रतिवेदन केही साताभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ। पर्यटन क्षेत्र पारदर्शी र विश्वसनीय बनाउन यो अनुसन्धान निर्णायक बन्न सक्ने देखिएको छ। यदि आरोप पुष्टि भए कानुनी कारबाहीसँगै नीतिगत सुधारको माग पनि चर्किने निश्चित छ।