इरान–इजरायल युद्ध चर्कियो: विद्यालयमा आक्रमण, २४ बालिकाको मृत्यु


काठमाडौँ । 

इरान र इजरायलबीचको युद्धले भयावह रूप लिँदै गएको छ। दक्षिण इरानको मिनाब सहरस्थित एक प्राथमिक बालिका विद्यालयमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा २४ जना विद्यार्थीको ज्यान गएको इरानी समाचार एजेन्सी फार्सले जनाएको छ। प्रारम्भमा पाँच जनाको मृत्यु भएको भनिए पनि भग्नावशेषबाट थप शव निकालिएपछि मृतक संख्या बढेको हो।

युद्धको प्रभाव छिमेकी मुलुक बहराइन सम्म फैलिएको छ। अमेरिकी नौसैनिक आधार रहेको जुफैर क्षेत्रमा इरानी आक्रमण भएपछि त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको बहराइनको गृह मन्त्रालयले जनाएको छ। आक्रमणपछि क्षेत्रमा बाक्लो धुवाँ देखिएको र नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

यसैबीच रुस ले अमेरिका र इजरायललाई इरानमाथिको आक्रमण तत्काल रोक्न चेतावनी दिएको छ। रुसी विदेश मन्त्रालयले राजनीतिक र कूटनीतिक समाधानतर्फ फर्कन आग्रह गरेको छ।

अन्य देशहरूले पनि युद्धप्रति चिन्ता व्यक्त गरेका छन्। नर्वे का विदेशमन्त्री एस्पेन बार्थले इजरायलको पूर्वसतर्कता आक्रमणको दाबी अस्वीकार गर्दै यसलाई अन्तर्राष्ट्रिय कानुन विपरीत बताएका छन्। बेल्जियम र पाकिस्तान ले पनि आक्रमणको निन्दा गर्दै तत्काल कूटनीतिक वार्तामा फर्कन आह्वान गरेका छन्।