चिसोले सुनसान मुस्ताङमा चुनावी चहलपहल सहरकेन्द्रित


काठमाडौँ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी माहोल ताते पनि हिमाली जिल्ला मुस्ताङमा भने खासै चहलपहल देखिएको छैन। अत्यधिक चिसोका कारण अधिकांश मतदाता हिउँदभरि पोखरा र काठमाडौंजस्ता सहरमा बस्ने भएकाले गाउँबस्ती सुनसान बनेका छन्। उम्मेदवारहरू पनि सहरमै केन्द्रित भई घरदैलो र भेटघाट गरिरहेका छन्।

मुस्ताङ एक मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो जहाँ ११ हजार ३२८ मतदाता र ३९ मतदान केन्द्र रहेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीसहित आठ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

चिसो कम भएपछि मात्र मतदाता गाउँ फर्किने स्थानीयको भनाइ छ। यस्तो अवस्थामा चुनावमा मतदाताको सहभागिता कति हुन्छ भन्ने चासो बढेको छ। उम्मेदवारहरू भने सहरमै रहेका मतदातासँग भेटघाटलाई तीव्रता दिँदै केही दिनभित्र मुस्ताङ उक्लिने तयारीमा छन्।