कमला मिससंगै निर्देशनमा फर्किए नीर शाह


ख्यातिप्राप्त अभिनेता, निर्माता, निर्देशक तथा गीतकार नीर शाह लामो समयपछि फिल्म निर्देशनमा फर्केका छन्। शाह विजयबहादुर मल्लको मनोवैज्ञानिक विषयवस्तुमा आधारित चर्चित कथामा आधारित फिल्म कमला मिसमार्फत पुनः फिल्म निर्देशनमा फर्केका हुन्।

हालै ललितपुरको इमाडोलस्थित न्यु मिलेनियम स्कुल परिसरमा शुभमुहूर्त गरी फिल्मको सुटिङ सुरु गरिएको छ। कमला मिसमा मानव मनोविज्ञानका सूक्ष्म आयामलाई केन्द्रमा राखिएको छ। फिल्ममा निर्देशक नीर शाहसँगै बासना तिमिल्सिना, शिवम् सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मीलगायतका कलाकार मुख्य भूमिकामा देखिनेछन्।

विजय मल्ल स्मृति प्रतिष्ठानको ब्यानरमा उमेश मल्ल र चैतन्य प्रधान कार्यकारी निर्माता र पुष्कर लामा (प्रेम भोम्जन) लाइन प्रोड्युसर रहने फिल्ममा विजयबहादुर मल्लको कथामाथि नीर शाह, प्रजल दुलाल र सुगम दुलालले संयुक्त रूपमा पटकथा र संवाद तयार पारेका छन्। २०२४ सालमा हिरासिंह खत्रीद्वारा निर्देशित फिल्म परिवर्तनबाट करियर सुरु गरेका शाहले वासुदेव, पच्चीस वसन्त, राजमती, वसन्ती, मसान, सेतो बाघजस्ता फिल्म निर्देशन गरेका र करिब ३ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनीद्वारा अभिनित पछिल्लो फिल्म परानले बक्स अफिसमा करिब १८ करोड रुपैया“ कलेक्सन गर्दै व्यावसायिक सफलता हासिल गरेको थियो।