नेपाल कबड्डी लिगको दोस्रो सिजन जेठमा

१० करोडको बजेट र विदेशी खेलाडीको आकर्षण


काठमाडौं ।

नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो संस्करण आगामी जेठ २२ गतेदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आयोजना हुने भएको छ ।

आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले सोमबार पत्रकार सम्मलेनमार्फत लिगको मिति र तयारीबारे औपचारिक घोषणा गरेको हो । पहिलो सिजनको सफलतापछि यसपटकको संस्करणलाई अझ बढी व्यावसायिक र भव्य बनाउने प्रतिबद्धता आयोजकले जनाएका छन् । लिगका लागि यस वर्ष खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ । आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीका अनुसार दोस्रो सिजनका लागि ५ सय १२ नेपाली र १५ विभिन्न देशका १ सयभन्दा बढी विदेशी खेलाडीहरूले आफ्नो नाम दर्ता गराएका छन् । यो संख्या गत वर्षको तुलनामा करिब दोब्बर हो । यसपटक विश्व प्रसिद्ध ‘प्रो कबड्डी लिग’ खेलिसकेका अनुभवी भारतीय खेलाडीहरूसहित इरान, दक्षिण कोरिया र पोल्याण्ड जस्ता देशका उत्कृष्ट खेलाडीहरू समेत कोर्टमा उत्रिने तयारीमा छन् ।

आर्थिक र प्राविधिक रूपमा पनि यस पटकको लिग मजबुत देखिने भएको छ । एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास अग्रवालले यस सिजनको कुल बजेट १० करोड रुपैयाँ रहने जानकारी दिए । खेलको प्रत्यक्ष प्रसारणका लागि आयोजकले कान्तिपुर म्याक्स टीभी एचडीसँग सम्झौता गरेको छ । कार्यक्रममा नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापा र महासचिव अरविन्द कुमार झाले लिगले नेपाली कबड्डीको व्यवसायिकतामा इँटा थप्ने विश्वास व्यक्त गरे । गत वर्षको पहिलो संस्करणमा ६ सहरका ६ टिमबीच भएको प्रतिस्पर्धामा काठमाडौं माभरिक्सलाई पराजित गर्दै जनकपुर नाइट्स च्याम्पियन बनेको थियो। कबड्डीलाई तल्लो तहदेखि नै विकास गर्ने उद्देश्यले आयोजकले ‘एनकेएल नेक्स्टजेन इन्टर स्कुल कबड्डी च्याम्पियनसिप’ समेत सुरु गरिसकेको छ।