नागढुङ्गा चेकपोस्टमा पेस्तोल र ४ राउण्ड गोलीसहित युवक पक्राउ


काठमाडौं।

जिल्ला काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित चेकपोस्टमा प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित एक युवकलाई पक्राउ गरेको छ।

आज बिहान करिब ५:१५ बजे चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा १९ च ६९० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो। सो क्रममा कारभित्र रहेको कालो रङको झोलाभित्र लुकाइछिपाइ ल्याइएको अवस्थामा एक थान पेस्तोल र त्यसको चार राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको हतियार तथा सवारीसाधनसहित जिल्ला काठमाडौं कीर्तिपुर नगरपालिका–२ बस्ने ३० वर्षीय केयुर पुरीलाई नियन्त्रणमा लिइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।